लिग लिडर चर्च बोइज युनाईटडले फ्रेन्चाईज टोली विराटनगर सिटि फुटबल क्लब माथि ७-१ को फराकिलो जित दर्ता गर्ने क्रममा उसका दुई खेलाडीले ह्याट्रिक गरेका थिए ।
मंगल बेघा
१० पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता २०८१ मा विराटनगर सिटि फुटबल क्बल, विराटनगर माथि एपीआई चर्च बोइज युनाईटेड, ललीतपुरले ७–१ को फराकिलो जित दर्ता गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
फिदिम माविको खेल मैदानमा बुधबार भएको खेलमा लिग लिडर चर्च बोइजले फ्रेन्चाईज टोली विराटनगर माथि सहज जित दर्ता गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एकतर्फी जस्तै देखिएको तेस्रो क्वाटर फाईनलमा चर्च बोइजले पहिलो हाफमा २ र दोस्रो हाफमा थप ५ गोल गरेको थियो भने विराटनगरले दोस्रो हाफमा नै सान्तवना गोल फर्काएको थियो ।
विराटनगर माथि फराकिलो जित हात पर्ने क्रममा चर्च बोइजका दुई खेलाडीले ह्याट्रिक पूरा गरेका थिए । उसका लागि समिर तामाङले खेलको १५ औं, ४६ औं र ७० औं मिनेटमा गोल गरे भने विदेशी खेलाडी आर्मोन्ड वेयुडुमले ६२ औं, ७७ औं ८९ औं मिनेटमा गोल गरेका थिए । आर्मोन्डले पेनाल्टी मार्फत ह्याट्रिक पूरा गरेका थिए । चर्च बोइजका लागि सातौं गोल विदेशी खेलाडी फोफोना अब्बायोमीले खेलको अतिरिक्त समयमा गरेका थिए ।
विराटनगरका लागि खेलको ८७ औं मिनेटमा सन्दिप राईले सान्तवना गोल फर्काए । खेलको अधिकांश समय दवाव भोगेको विराटनगरले कुनै पनि समय गतिलो आक्रमण बुन्न सकेन ।
तेस्रो क्वाटर फाइनलको म्याद अफ दि म्याच चर्च बोइजमा समिर तामाङ घोषित भए । उनलाई फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले नगद १० हजार र ट्रफी हस्तान्तरण गरे ।
दुई दिन अघि मात्र झापा कप जितेको चर्च बोइजले आगामी शुक्रबार हुने पहिलो सेमिफाईनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यसै गरी, उपविजेताले नगद ५ लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद १५ हजार पुरस्कार हात पार्नेेछन् । यसै गरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उदयमान खेलाडीलाई पनि १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष थापा मगरले जानकारी दिए । प्रतियोगिताको हरेक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई समेत जनही १० हजार नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
प्रतियोगिताको फाईनल खेल पौष १५ गते फिदिम माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहेको छ भने पाँचथर जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।
विहिबार हुने चौथो तथा अन्तिम क्वाटर फाईनल :
एनआरटी, काठमाण्डौ विरुद्ध सल्हेश यूवा क्लब, सिराहा
प्रकाशित मिति : १० पुस २०८१, बुधबार ७ : ०८ बजे
प्रतिक्रिया