पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

८ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता- २०८१ मा त्रिभूवन आर्मी फुटबल क्लब काठमाण्डौं माथि आयोजक फिदिम स्पोर्टिङ क्बलले सनसरीपूर्ण जित दर्ता गरेको छ ।

फिदिम माविको खेल मैदानमा सोमबार भएको प्रतियोगिताको पहिलो क्वाटर फाईनलमा आयोजकले विभागीय टाेलीलाई टाईब्रेकरमा ४–२ ले पाखा लगाउँदै सनसनीपूर्ण जित दर्ता गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले ०-० को बराबरी खेलेपछि सोझै टाईब्रेकर मार्फत खेलको निर्णय लिइएको थियो ।

टाईब्रेकरमा आयोजक फिदिम स्पोर्टिङका आशिष चापागाँई, बिशाल दर्जी, राम वाजी र निरोज लिङ्देनले गोल गरे भने सुकराज राईको प्रहार आर्मीका गोल रक्षक नबिन परियारले बचाउ गरे । आर्मीका निरोजकुमार घिसिङ र कुसाङ लामाको प्रहारले जाली चुम्दा सिद्धान्त चौधरी र सुजित साहीको प्रहारलाई आयोजकका गोलरक्षक मिराक खजुमले सुन्दर बचाउ गरेका थिए ।

प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गर्न दुवै टोलीले आक्रमक फुटबल पस्केका थिए । खेलको रणनीतिमा काउन्टर अट्याकलाई वढि ध्यान दिएको आर्मीले गरेका पटक-पटकका प्रयासमा आयोजकका डिफेन्डर विशाल दर्जी बाधन बने । उनले आर्मीका दर्जनै प्रयासलाई सुन्दर ढङ्गले क्यियर गरेका थिए । स्थानीय र झापाका केही खेलाडी सहित मैदान उत्रिएको आयोजकले आर्मीमाथि वल पोजिसन राख्दै दवाव सिर्जना गरेको थियो । आयोजकले दुवै हाफमा पटक–पटक गरेको आक्रमणमा आर्मीका गोलरक्षक परियार बाधक बने । आयोजकका खेलाडीले गरेको आधा दर्जन वढि प्रहारलाई परियारले सुन्दर बचाउ गरेका थिए ।

विभागीय टोली माथि सनसनीपूर्ण जित दर्ता गरेको आयोजक सेमिफाईनलमा प्रवेश गरेको छ ।


सोमबार सम्पन्न खेलको म्यान अफ दि म्याच आयोजकका विशाल दर्जी घोषित भए । उनलाई प्रमुख अतिथि जिल्ला फुटबल संघका अध्यक्ष गणेशकुमार राईले नगद १० हजार र ट्रफी प्रदान गरे ।

प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यसै गरी, उपविजेताले नगद ५ लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।

यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद १५ हजार पुरस्कार हात पार्नेेछन् । यसै गरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उदयमान खेलाडीलाई पनि १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष थापा मगरले जानकारी दिए । प्रतियोगिताको हरेक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई समेत जनही १० हजार नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

मंगलबार हुने दोस्रो क्वाटरफाइनलः
मछिन्द्र फुटबल क्बल, काठमाण्डौं विरुद्ध न्यु स्टार क्लब, सुनसरी

तस्विर सौजन्य : निराजन श्रेष्ठ

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ४७ बजे