मंगल बेघा
७ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता- २०८१ मा मछिन्द्र फुटबल क्लब काठमाण्डौंले डिफेन्डिङ च्याम्पियन झापा- ११ फुटबल क्बल झापा विरुद्ध गोलको वर्षा गर्दै क्वाटर फाईनलको यात्रा तय गरेको छ ।
फिदिम माविको खेल मैदानमा आइतबार भएको प्रतियोगिताको दोस्रो खेलमा मोफसलको प्रतिष्ठित क्बल झापा विरुद्ध ए डिभिजन क्बल मछिन्द्रले ५–० को जित दर्ता गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । झापा विरुद्ध गोलको वर्षा गर्ने क्रममा मछिन्द्रले पहिलो हाफमा ३ र दोस्रो हाफमा थप २ गोल गरेको थियो ।
पहिलो हाफको १० औं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले हेडर मार्फत बललाई जाली चुमाउँदै आफ्नो टिमलाई १–० को अग्रता दिलाए । विजु भुजेलले लामो थ्रोवाट डिबक्सभित्र मिलाएको पासलाई उनले हेड मार्फत गोल गरेका थिए । खेलको २९ औ मिनेटमा मछिन्द्रका उत्सव राईले खाली पोष्टमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे । झापाका गोल रक्षक अगाडि वढेर नियन्त्रण लिन नसकेको बललाई उनले खाली पोष्टमा प्रहार गर्दै गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा विजु भुजेलले फ्रि–हेडर मार्फत गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए । कर्नरवाट आएको वललाई अनमार्क रहेका भुजेलले गरेको शक्तिशाली हेडरले सिधै जाली चुमेको थियो ।
दोस्रो हाफको अन्तिम १० मिनेट सम्हालिन नसक्दा झापाले थप २ गोल ब्यहोर्नु प¥र्यो । खेलको ८१ औ मिनेटमा सौरभ सुब्बाले वान भर्सेस वानमा बललाई सिधै जाली चुमाउँदै टिमको अग्रता ४–० पु¥याए । निर्धारित समयको अन्त्यमा विजु भुलेलले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गर्दै टिमलाई ५–० को फराकिलो जित दिलाए । झापाका गोल रक्षक र डिफेन्डरबीच तालमेल नमिलेपछि फुत्किएको बललाई नियन्त्रणमा लिँदै उनले गोल गरेका थिए ।
आइतबार सम्पन्न दोस्रो प्रिक्वाटर फाईनल खेलको म्यान अफ दि म्याच झापा विरुद्ध २ गोल गरेका मछिन्द्रका विजु भुजेल घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे ।
प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यसै गरी, उपविजेताले नगद ५ लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद १५ हजार पुरस्कार हात पार्नेेछन् । यसै गरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उदयमान खेलाडीलाई पनि १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष थापा मगरले जानकारी दिए । प्रतियोगिताको हरेक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई समेत जनही १० हजार नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
सोमबार हुने पहिलो क्वाटरफाइनलः
फिदिम स्पोर्टिङ क्बल विरुद्ध त्रिभूवन आर्मी फुटबल क्बल
प्रकाशित मिति : ७ पुस २०८१, आइतबार ६ : २३ बजे
प्रतिक्रिया