मंगल बेघा
६ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता- २०८१ मा आयोजक फिदिम स्पोर्टिङ क्बलले विजयी सुरुवात गरेको छ ।
फिदिम माविको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा करसाङ फुटबल क्बल, करसाङ भारतलाई टाइब्रेकरमा ५-४ ले हराउँदै आयोजकले विजयी सुरुवात गरेको हो । निर्धारित खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि सोधै टाइब्रेकर मार्फत खेलको निर्णय लिइएको थियो ।
टाइब्रेकरमा आयोजक फिदिम स्पोर्टिङ क्लबका आशिस चापागाई, राम वाजी, विशाल दर्जी, शुकराज राई र निरोज लिङदेनले बललाई जाली चुमाएका थिए । करसाङको तर्फवाट आकाश प्रधान, विशाल भण्डारी, रुस्तम प्रधान र प्रशान्त क्षेत्रीले गोल गरे । करसाङको तर्फवाट पहिलो प्रहार लिएका छोगेल लामाको प्रहारलाई फिदिमका गोलरक्षक मिराक खजुमले बचाउ गरेका थिए ।
खेल अवधिभर दुवै टोलीले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । एकमात्र विदेशी क्बल करसाङ पहिलो खेलवाट नै घर फर्किएपछि अब प्रतियोगितामा सहभागी भएका कुल १० मध्ये ए डिभिजनका चार सहित नौ टिम उपाधिको दौडमा रहेका छन् ।
उद्घाटन खेलको म्यान दफ दि म्याच फिदिम स्पोर्टिङ क्लबका गोलरक्षक मिराक खजुम घोषित भए । उनले नगद १० हजार पुरस्कार र ट्रफि हात पारे ।
प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यसै गरी, उपविजेताले नगद ५ लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद १५ हजार पुरस्कार हात पार्नेेछन् । यसै गरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उदयमान खेलाडीलाई पनि १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष थापा मगरले जानकारी दिए । प्रतियोगिताको हरेक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई समेत जनही १० हजार नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन सत्रमा स्थानीय विद्यालयहरुले मार्चपास गरेका थिए । यसै गरी, विभिन्न जातीका साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो । उद्घाटन सत्रलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले खेलकुद शारीरिक मानसिक स्वास्थ्यका लागि मात्र नभएर आर्थिक गतिविधि चलायमान बनाउने माध्यम समेत बनेको बताए । प्रतियोगिताको निरन्तरताका लागि नगरपालिकावाट सहयोग रहने समेत प्रमख काफ्लेले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका नेता, कार्यालय प्रमुख, संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
आइतबारको खेल:-
झापा ११ फुटबल क्लब झापा विरुद्ध मच्छिन्द्र फुटबल क्बल काठमाण्डौ
प्रकाशित मिति : ६ पुस २०८१, शनिबार ७ : ११ बजे
प्रतिक्रिया