मंगल बेघा
२१ मंसिर, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता २०८१ को पुरस्कार रकम वृद्धि गरिएको छ ।
फिदिम माविको खेल मैदानमा आगामी पौष ४ गतेदेखि आयोजना गरिने सो प्रतियोगिताको पुरस्कार रकम अघिल्लो संस्करणको तुलनामा दोब्बर बृद्धि गरिएको छ । प्रतियोगिताको आयोजक फिदिम स्पोर्टिङ्ग क्लबका अनुसार यस पटकको विजेताले १० लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने भएको छ । यसै गरी, उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए । जिल्लामा हालसम्म आयोजना गरिएका फुटबल प्रतियोगितामा यो सवैभन्दा वढि राशी पुरस्कार हो ।
यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद १५ हजार पुरस्कार हात पार्नेेछन् । यसै गरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उदयमान खेलाडीलाई पनि १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष थापा मगरले जानकारी दिए । प्रतियोगिताको हरेक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई समेत जनही १० हजार नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ९० लाख खर्च हुने अनुमान गरिएको र आर्थिक संकलन सहित मैदान तयारी तिब्र रुपमा अगाडि बढाइएको अध्यक्ष थापा मगरले जानकारी दिए ।
ए डिभिजन चार सहित १० टिमको सहभागिता
११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता २०८१ ए डिभिजनका चार सहित जम्मा १० टिमको प्रतिस्पर्धा हुने भएको छ ।
आयोजक फिदिम स्पोर्टिङ्ग क्लबका अनुसार काठमाण्डौका ए डिभिजनका क्लबहरु चर्च व्वाईज युनाईटेड, न्यू रोड टिम (एनआरटी), मछिन्द्र क्लब र त्रिभूवन आर्मी फुटबल क्बलले यस संस्करणको प्रतियोगिता सहभागिता जनाउने सुनिश्चित भएको छ ।
यसै गरी, काठमाण्डौ कै बी डिभिजनको चित्लाङ क्बल, विराटनगर सिटि एफ.सि. विराटनगर, सहलेश यूवा क्बल सिराहा, न्यु स्टार क्बल सुनसरी, झापा र आयोजक फिदिम स्पोर्टिङ्ग क्बलले यस प्रतियोगितामा प्रतिपर्धा गर्ने भएका हुन् ।
६ वर्षपछि प्रतियोगिताको निरन्तरता
११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता ६ वर्षको अन्तराल पछि आयोजना हुन लागेको हो ।
यस अघि १० औं संस्करणको प्रतियोगिता २०७५ सालमा भएको थियो । त्यसपछि कोभिड १९ को महामारी, पुनःनिर्माणले खेल मैदानको अभाव लगायतका कारण देखाउँदै खेल स्थगित गरिएको थियो । १० औं संस्करणको उपाधि झापा ११ ले उचालेको थियो ।
निर्माणाधिन खेल मैदान भए पनि गत साल किरात गोल्डकप र पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आयोजना भएका थिए ।
प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार १० : ११ बजे
प्रतिक्रिया