मंगल बेघा
१३ मंसिर, पाँचथर । फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानको अध्यक्षमा कवि तथा समालोचक मनकुमार लावती (समदर्शी काँइला) मनोनित भएका छन् ।
फाल्गुनन्द गाउँ कार्यपालिकाको बुधबार सम्पन्न बैठकले समदर्शी काँइलालाई प्रज्ञा प्रतिष्ठानको अध्यक्षमा मानोनित गरेको हो । बहुरङवादी साहित्यिक आन्दोलनमा आवद्ध काँइला कविता एवं आख्यानमा कलम चलाउने स्रष्टा हुन् ।
गाउँपालिकाको साहित्य, कला संस्कृतिको संरक्षण सम्बद्धन गर्न प्रतिष्ठान गठन गरिएको गाउँपालिकाले जनाएको छ । “फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान ऐन २०८१ को दफा ७ बमोजिम तपाईलाई विद्धत सभाको अध्यक्ष पदमा मनोनित गरिएको छ”- अध्यक्ष बृजहाङ आङदेम्बेद्धारा हस्ताक्षरित नियुक्ति पत्रमा भनिएको छ- “गाउँपालिकाभित्र रहेका भाषा, कला, संस्कृति एवं साहित्य तथा बाङमयको संरक्षण, सम्बद्धन गर्न यस क्षेत्रमा समर्पित प्रतिष्ठित प्रतिभाहरुको पहिचान गर्न, सम्मान र कदर गर्न तपाईको उच्च योगदान रहने विश्वास लिएको छु ।” प्रतिष्ठानकाे अन्य सदस्यहरु भने मनाेनित गर्न बाँकी रहेकाे अध्यक्ष काँइलाले जानकारी दिए ।
प्रतिष्ठानको अध्यक्ष पदमा मनोनित गर्ने गाउँपालिकाको निर्णय प्रति काँइलाले धन्यवाद ज्ञापन गरे । गाउँपालिकाद्धारा दिइएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने उनले बताए । काँईलाका मान्छेकाे आत्महत्याकाे जग्गा, म अमेजन उकालाे बग्छु लगायतका कविता कृति प्रकाशित छन् ।
पाँचथर जिल्लामा यसअघि फालेलुङ गाउँपालिकाले बाङमय प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङका अनुसार प्रतिष्ठानले वार्षिक रुपमा स्रष्टा सम्मान सहित साहित्यिक तथा साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।
प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ८ : ०७ बजे
प्रतिक्रिया