मंगल बेघा
१३ मंसिर, पाँचथर । पाँचथर जिल्लामा बाढी पहिरोमा परी मृत्यू र वेपत्ता भएका परिवारलाई पाँचथर समाज काठमाण्डौले बुधबार फिदिममा राहत वितरण गरेको छ ।
फिदिम नगरपालिकाको सभाकक्षमा आयोजित राहत वितरण कार्यक्रममा गत असाेजमा आएको बाढी पहिराेमा परी ज्यान गुमाउने र बेपत्ता भएका परिवारलाई जनही १० हजार राहत वितरण गरिएको हो । समाजका अनुसार मृत्यू भएका ८ र बेपत्ता १ गरी जम्मा ९ परिवारले सो राहत पाएका हुन् । कार्यक्रममा समाजको तर्फवाट ति परिवारलाई समवेदना पत्र समेत प्रदान गरिएको थियो ।
संस्थाको उद्देश्य अनुसार विपत्तिमा परेका परिवारलाई सहयोग पुर्याउन राहत वितरण गरिएको समाजका अध्यक्ष होमकुमार लावतीले बताए । जिल्लाको विपत्तीमा सहयोग पुर्याएको भन्दै कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले संस्थालाई धन्यवाद ज्ञापन गरे । जिल्लाको विकासमा संस्थाले खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै समाजले आगामी दिनमा समेत हातेमालो गर्नेमा आशावादी रहेको प्रमुख काफ्लेले धारण व्यक्त गरे ।
गत असोजमा आएको बाढी पहिरोमा परी फिदिम १ का निर्मला राई, गोपी बिश्वकर्मा, फिदिम २ की रञ्जना राई, फिदिम ५ की थुममाया योङ्या, फिदिम ८ का पासाङ शेर्पा, फिदिम १२ का पेम्बी शेर्पा, फाल्गुनन्द ६ का नरबहादुर चेम्जोङ र फालेलुङ ६ की प्रिन्सी राईले ज्यान गुमाएका थिए । यसै गरी, फालेलुङ ५ कि कमला राई बेपत्ता भएकी थिईन् ।
तस्विर साैजन्य : भीम कार्की
प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ६ : ३७ बजे
प्रतिक्रिया