फिदिम । पाँचथरको फिदिम नगरपालिका वडा नं.६ स्थित सिद्धकालिका माध्यमिक विद्यालय, फेदायकमा समाज सेवी दुई दाजुभाइले ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरि दिनु भएको छ ।
फिदिम नगरपालिका वडा नं.६ याङ्देन निवासी हाल फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक र उहाँका दाजु प्रहरी नायव निरिक्षक भक्त तुम्रोकले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरि दिनु भएको हो ।
उहाँहरुले आफ्ना स्वर्गीय बुबा जङ्गबीर तुम्रोक र स्वर्गीय आमा मनरानी आङ्देम्बेको स्मृतिमा ५१ हजार रुपैयाँको “जङ्गबीर मनरानी स्मृति” नामक अक्षयकोष स्थापना गरिदिनु भएको विद्यालयका प्रधानाध्यापक नन्दकिशोर तुम्रोकले जानकारी दिनुभयो।
अक्षयकोष रकमको ब्याजबाट उक्त विद्यालयमा अध्ययनरत अनाथ, असहाय, गरिब, जेहेन्दार, नियमित तथा अनुशासित र दलित विद्यार्थीहरुलाई बार्षिक रुपमा छात्रवृत्ति वितरण गरिने बताइएको छ ।
यस्तै फिदिम ६ स्थित चोकमागु आधारभूत विद्यालय याङ्देन आहालेमा यसअघि उहाँहरुले नै स्थापना गर्नुभएको अक्षयकोषमा १० हजार रुपैयाँ थप गरिदिनु भएको छ । यसअघि स्थापना भएको ५० हजार रुपैयाँको अक्षयकोषमा १० हजार थप गरी “जङ्गवीर मनरानी स्मृति” अक्षयकोषमा ६० हजार रुपैयाँ पुर्याइएको हो ।
अक्षयकोष दाताहरुले उक्त दुवै विद्यालयमा पुगी अक्षयकोष रकम हस्तान्तरण गर्नु भएको छ । सहयोगी मनहरु तथा अक्षयकोष दाताहरुप्रति सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले धन्यबाद तथा आभार प्रकट गर्नु भएको छ ।
प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार १ : २४ बजे
प्रतिक्रिया