पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१३ कार्तिक, पाँचथर । सातौं तरुण गोल्डकप फुटबल प्रतियोगिता- २०८१ को उपाधि तुम्बेवा गाउँपालिकाको पोल्टामा परेको छ । फिदिम माविको खेल मैदानमा मंगलबार भएको फाईनलमा फिदिम नगरपालिकालाई १–० ले पराजित गर्दै तुम्बेवाले उपाधि कब्जा गरेको हो ।

नेपाल तरुण दल पाँचथरद्धारा आयोजित प्रतियोगिताको फाईनलमा पहिलो हाफको सुरुवाती समयमा नै तुम्बेवाका राजेश थापाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । पहिलो हाफमा दुवै टिमले गोलका लागि संघर्ष गरे पनि गोल ननिस्कदा खेलमा तुम्बेवाको अग्रता सहित पहिलो हाफ सकिएको थियो ।

दोस्रो हाफमा आक्रमक फुटबल पस्केको फिदिमका खेलाडीले पटक-पटक गरेको प्रहारमा तुम्बेवाका गोल रक्षक सनमान माङलाक बाधक बने । उनले फिदिमका आधा दर्जन शक्तिशाली आक्रमणहरु बचाउ गरेका थिए । दोस्रो हाफमा दुवै टिमवाट गोल नभएपछि पहिलो हाफमा तुम्बेवाका थापाले गरेको गोल नै निर्णायक बन्यो ।

खेलको म्यान अफ दि म्याच तुम्बेवाका गोल रक्षक सनमान माङलाक घोषित भए । उनले नगद १ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेता तुम्बेवाले नगद १ लाख १ सय ७२ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त ग¥र्यो । उपविजेतामा सीमित फिदिमले नगद ५१ हजार १ सय ७२ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक फिदिमका सुरेश गुरुङ, डिफेन्स फिदिमका सुवराज क्षेत्री, मिडफिल्डर तुम्बेवाका सोम लिम्बू, फरवार्ड फिदिमका सुकराज राई, सर्वाधिक गोलकर्ता तुम्बेवाका सन्तोष लिम्बू र राईजिङ प्लेयर फिदिमका आयुष राई घोषित भए । सवैले जनही २ हजार ५ सय पुरस्कार हात पारे । यसै गरी, वेष्ट प्लेयर तुम्बेवाका सनमान माङलाक घोषित भए । उनले ३ हजार पुरस्कार पाए ।

प्रतियोगिताका विजेता, उपविजेता तथा विधागत रुपमा पुरस्कार प्राप्त गर्ने खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बे, पाँचथरका सभापति रुपनारायण जवेगु, निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, तरुण दलका केन्द्रीय सदस्य धनराज तुम्बापो लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

गत शनिवारदेखि सञ्चालन भएको प्रतियोगितामा पाँचथरका ८ ओटै स्थानीय तहको सहभागिता रहेको थियो । तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताए ।

तस्विर सौजन्य : पत्रकार भीम बाँस्कोटा

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ६ : ३६ बजे