मंगल बेघा
११ कार्तिक, पाँचथर । सातौं तरुण गोल्डकप फुटबल प्रतियोगिता- २०८१ मा तुम्बेवा र मिक्लाजुङ गाउँपालिका सेमिफाईनलमा प्रवेश गरेका छन् ।
फिदिम माविको खेल मैदानमा आइतबार भएको खेलमा तुम्बेवा गाउँपालिकाले फाल्गुनन्द गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाले हिलिहाङ गाउँपालिकालाई पराजित गर्दै दुवै टिम सेमिफाईनलमा प्रवेश गरेका हुन् ।
नेपाल तरुण दल पाँचथरद्धारा आयोजित प्रतियोगिताको तेस्रो क्वाटर फाईनलमा तुम्बेवा गाउँपालिकाले फाल्गुनन्द गाउँपालिकालाई १–० गोलले हराउँदै सेमिफाईनलमा स्थान पक्का गरेको हो । पहिलो हाफ ०–० को बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा केही सुधारिएको खेल पस्केका थिए । तुम्बेवाका सन्तोष लिम्बूले दोस्रो हाफमा गरेको गोल नै निर्णाय बनेको थियो ।
खेलको म्यान अफ दि म्याद फाल्गुनन्दका प्रणय आङदेम्बे घोषित भए । उनले नगद १ हजार पुरस्कार प्राप्त गरे ।
यसै गरी, चौथो तथा अन्तिम क्वाटर फाईनलमा मिक्लाजुङ गाउँपालिकाले हिलिहाङ गाउँपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ पराजित गर्दै सेफिफाईनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि पेनाल्टी मार्फत खेलको निर्णय लिइएको थियो ।
पेनाल्टीमा मिक्लाजुङका ब्रनिस राई, सरोज राई, पुरन गुरुङ र स्वस्तिक राईले गोल गरे ।
हिलिहाङका हिटेन सुहाङ र गजेन राईले गोल गरे । प्रकाश धमला र रोमन लिङ्देनले गोल गर्न चुकेका थिए ।
जारी प्रतियोगिताकै रोमाञ्चक देखिएको खेलमा हिलिहाङका प्रबिण आङ्बोले पहिलो हाफमा र निरोज लिङ्देनले गोल गरे । मिक्लाजुङका दिपेश बर्देवा र सरोज राईले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफमा समान २–२ को बराबरी खेलेका दुबै टिमले दोस्रो हाफमा गोलरहित खेलेका थिए ।
खेलको म्यान अफ दि म्याद मिक्लाजुङका श्रीजन राई घोषित भए । उनले नगद १ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ७२ रुपैयाँ र उपविजेताले नगद ५१ हजार १ सय ७२ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताए । हरेक विधाका उत्कृष्ट खेलाडीले २ हजार ५ सय पुरस्कार प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिए ।
पाँचथरका ८ ओटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल कार्तिक १३ गते हुने आयोजक तरुण दलका अध्यक्ष लामाले जानकारी दिए ।
सोमबार हुने खेलहरु
पहिलो सेमिफाईनल : याङवरक गाउँपालिका गाउँपालिका विरुद्ध फिदिम नगरपालिका (दिउँसो १२:०० वजे)
दोस्रो सेमिफाईनल : तुम्बेवा गाउँपालिका विरुद्ध मिक्लाजुङ गाउँपालिका (दिउँसो २:०० वजे)
प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार ९ : १९ बजे
प्रतिक्रिया