पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१० असोज, पाँचथर । एन्फा महिला लिग- २०२४ मा कोशी प्रदेश दोस्रो चरणमा प्रवेश गरेको छ । काठमाण्डौमा जारी प्रतियोगितामा बिहिबार सुदुर पश्चिमलाई पराजित गर्दै १४ अंकका साथ कोशी दोस्रो चरणमा प्रवेश गरेको हो ।

कोशीले सुदुर पश्चिम विरुद्ध पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गरी ४-० को जित दर्ता गरेको हो । पहिलो हाफको २३ औं मिनेटमा कोशीकी सुनिता राउतले सुन्दर गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाईन् । समिक्षा मगरले दुई विपक्षी डिफेन्डरलाई छकाउँदै डिबक्सभित्र मिलाई दिएको पासलाई उनले सोझै जाली चुमाएकी थिईन् ।

दोस्रो हाफको ५१ औं मिनेटमा समिक्षा मगरले गोल गर्दै आफ्नो टिमलाई २-० को अग्रता दिलाईन् । सुनिता सरकारले मिलाएको पासमा उनले गोल गरेकी हुन् । खेलको ६४ औं मिनेटमा समिक्षाले नै व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् । यस पटक उनले पूर्णीमाको पास सदुपयोग गरेकी थिईन् । खेलको ८४ औं मिनेटका कोशीकी कप्तान कुस्मा राईले सुन्दर गोल गर्दै टिमको जित निश्चित गरिन् । उनले डिबक्स बाहिरवाट गरेको शक्तिशाली प्रहार विपक्षी गोलकिपरको पञ्च पार गर्दै गोलमा परिणत भएको थियो ।

खेलकाे म्यान अफ दि म्याच समिक्षा मगर घाेषित भइन् । उनले ५ हजार नगद र ट्रफी हात पारिन् ।

लिगको सुरुवाती तीन खेलमा खेलाडीले राम्रो प्रदर्शन गरेको कोशीका सहायक प्रशिक्षक पासाङ तामाङले बताए । खेलाडी घाईते र विरामी भएका कारण त्यस पछिका खेलहरुमा स्वभाविक प्रदर्शन गर्न नसकिएको उनले जानकारी दिए । सुपर लिगका लागि थप खेलाडी व्यवस्था गरे राम्रो प्रदर्शन गर्न सकिने सहायक प्रशिक्षक तामाङले बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

यी हुन् सुपर लिग चरणमा प्रवेश गर्ने टिम

काठमाण्डौंमा जारी एन्फा महिला लिगमा पाँच टोली सुपर लिगमा प्रवेश गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालित प्रतियोगितामा तीन विभागीय क्लब, एक नगरपालिका र एक प्रदेशको टोली सुपर लिगमा प्रवेश हुन् ।

सुपर लिग चरणमा प्रवेश गर्ने टोलीमा तीन विभागीय क्लबहरु नेपाल एपिएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब रहेका छन् । यसै गरी, वालिङ नगरपालिका र कोशी प्रदेशले समेत सुपर लिग चरणमा प्रवेश गरेका हुन् ।

जारी लिगमा २२ अंकका साथ एपिएफ शिर्ष स्थानमा रहेको छ । १९ अंक जोडेको त्रिभूवन आर्मी दोस्रो र १८ अंक जोडको नेपाल पुलिस तेस्राे स्थानमा रहेका छन् । तीन ओटै विभागीय क्लबले लिग चरणका एक-एक खेल खेल्न बाँकी रहेको छ । लिग चरणका नौ ओटै खेल खेलिसकेका वालिङ नगरपालिका १५ अंकका साथ चौथो र १४ अंकका साथ कोशी पाँचौ स्थान रहेका छन् ।

फोटो सौजन्य- पासाङ तामाङ

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ८ : ३२ बजे