पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१३ भदौ, पाँचथर । फालेलुङ गाउँपालिका ५ प्राङबुङ स्थित डाँडागाउँमा विहिबार दिउँसो विष्फोट हुँदा चार जना बालबालिका घाईते भएका छन् । घाईते चार मध्ये दुईको स्वास्थ्य अवस्था गंभीर रहेको अस्पतालले जनाएको छ ।

घटनामा परी गंभीर घाईते हुनेमा स्थानीय दिलिप साँबाका ११ वर्षीय छोरा दिप्सन साँबा र दुई वर्षीया छोरी प्रिन्सा साँबा रहेका छन् । शरीरका अधिकांश भाग जल्नुका साथै चोट समेत लागेका उनीहरुको जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरी झापाको विएण्डसी अस्पताल रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

यसै गरी, घाईते हुने अन्यमा ज्ञानबहादुर राईको १० वर्षीय छोरा पवन राई र सोही स्थान बस्ने दिपक राईको छोरा १० वर्षीय युनस राई रहेका छन् । पवनको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । अर्का घाईते युनसको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएकाे छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीय सन्दिप थाम्सुहाङले जानकारी दिए ।

स्थानीय आईतराज साँबाको घरमा दिउँसो माइन विष्फोट भएको स्थानीयले बताए । उनी हाल फिदिम वजार बसोबास गर्ने गरेको र सो घरमा ज्ञानबहादुर राई बसोबास गर्दै आएको स्थानीय शिल्प साम्पाङले जानकारी दिए ।

घटना लगत्तै घाईतेहरुको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको फालेलुङ गाउँपालिका ५ का वडाअध्यक्ष भरत खपाङ्गीले बताए । घटनाको जानकारी पाउन साथ प्रहरी परिचालन गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरिक्षक हेमन्त क्षत्री भण्डारीले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ८ : ४३ बजे