पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

४ भदौ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा वाईवाई पाँचथर फुटबल क्लब पाँचथर विरुद्ध सलहेश फुटबल क्लब सिराहाले कठिन जित दर्ता गरेको छ । जिल्ला सदरमुकाम फुङलिङ स्थित भानु माविको खेलमैदानमा मंगलबार भएको दोस्रो क्वाटर फाईनलमा सिराहाले पाँचथरलाई १–० को झिनो अन्तरले पराजित गरेको हो ।

विदेशी खेलाडी सहित मैदान उत्रिएको सिराहाले ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सिराहाका लागि जय गुरुङले डिबक्स बाहिरवाट गरेको शक्तिशाली प्रहारले जाली चुमेको थियो । उनको प्रहारलाई रोक्न पाँचथरका गोलरक्षक सुमन मगरले प्रयास गरे पनि सफल हुन सकेनन् । गोलको अवसर सिर्जना भएको थ्रोबल प्रहार नियमसम्मत नभएको भन्दै पाँचथरका खेलाडीले रेफ्री विरुद्ध असन्तुष्टि जनाएपछि केही बेर खेल अवरुद्ध भएको थियो ।

पहिलो हाफको सुरुवाती चरणमा सिराहाले बल पोजिसन राख्दै पाँचथर विरुद्ध दवाव सिर्जना गरेको थियो । त्यसपछि खेलमा लय समाएको पाँचथरले पटक पटक पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ १–० को नजितामा टुंगिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले आक्रमक फुटबल पस्के । दुवै टोलीले गोलको अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा पहिलो हाफमा भएको एकमात्र गोल नै निर्णायक बन्यो ।

खेलको म्यान अफ दि म्याच सिराहाका विजय गुरुङ बने । उनले नगद रु ५ हजार पुरस्कार पाए ।

प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । आठ टिमलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए । प्रतियोगितामा आयोजक ताप्लेजुङको संघर्ष स्पोर्टिङ क्लब, कञ्चनजंघा फुटबल क्लब सिलिगुढी भारत, बुटबल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा युथ क्लब मोरङ ‘ए’ समूहमा रहेका छन् । यसै गरी पाँचथर फुटबल क्लब पाँचथर, सलहेस युवा क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र बिर्तामोड युनाइटेड फुटबल क्लब झापा ‘बी’ समूहमा छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र बाँकी सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्र्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई १० हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले बताएका छन् । प्रतियोगिता आयोजना गर्न कुल ५७ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

बुधबारको खेल
बुटवल लुम्बिनी फुटबल क्लब बुटवल विरुद्ध सगरमाथा युथ क्लब मोरङ

तस्विर साैजन्य- दिलिप राई

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ९ : ०८ बजे