पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२३ साउन, पाँचथर । काभा महिला भलिबल नेसन्स लिग- २०२४ को उपाधी भारतले जितेको छ । काठमाण्डौमा मंगलबार सम्पन्न फाईनलमा नेपाललाई ३-२ ले हराउँदै भारत च्याम्पियन बनेको हो ।

पाँचौ सेटमा मात्र उपाधीको छिनोफानो भएको खेलमा नेपालले अग्रता लिएको थियो । पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने सहज रुपमा भारतलाई सुम्पिएको थियो । भारतले दोस्रो सेट २५-१४ को सहज जित दर्ता गरेपछि खेल १-१ को स्थितिमा पुगेको थियो । तेस्रो सेट नेपालले २५-२२ ले जितेपछि खेल २-१ को स्थितिमा पुगेको थियो । जितका लागि एक सेटको अपेक्षा सहित मैदान उत्रिएको नेपालले चौथाै सेट भारतलाई २५-२१ काे नजिता सुम्पिन बाध्य भयो ।

निर्णायक एवं पाँचौ सेट भने सुरुवात देखि नै भारत हाबी रह्यो । सुरुवाती ३ अंक जोडेपछि निरन्तर नेपाल विरुद्ध दवाव सिर्जना गरेको भारतले १५-५ को नजिता उपाधी कब्जा गरेको हो ।

यस प्रतियोगिताको फाईनलमा भारतले नेपाल विरुद्ध जित निकाल्दै उपाधी मात्र हात पारेन, लिग चरणमा ब्यहोरेको हारको बदला समेत लिन सफल भयो । लिग चरणमा नेपालले भारतलाई ३-२ को सेटमा हराउँदै ऐतिहासिक जित हाँसिल गरेको थियो ।

प्रतियोगिताको सेमिफाईनलमा भारतले श्रीलंकालाई ३-० को सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । यसै गरी, नेपालले इरानलाई ३-० को सेटमा नै पराजित गर्दै उपाधीका लागि भारतसँगको भिडन्त पक्का गरेको थियो ।

इरान तेस्रो स्थानमा

काभा महिला भलिबल नेसन्स लिग- २०२४ को तेस्रो स्थान इरानले हाँसिल गरेको छ । काठमाण्डौंमा मंगलबार भएको खेलमा श्रीलंकालाई पराजित गर्दै इरानले तेस्रो स्थान प्राप्त गरेको हो ।

इरानको यूवा टोलीले श्रीलंका विरुद्ध २५-२२, २८-२६ र २५-१७ जित निकाल्दै तेस्रो स्थान सुरक्षित गरेको हो । पहिलो र दोस्रो सेटमा कडा चुनौती पस्केको श्रीलंका तेस्रो सेटमा भने इरान सामू निरिह बनेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : ३८ बजे