पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

४ साउन, पाँचथर। एसीसी वुमन्स एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ । श्रीलंकाको डाम्बुलामा शुक्रबार भएको उद्घाटन खेलमा नेपालले यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पार्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

यूएईले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा सहज जित हाँसिल गरेको हो । नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् । सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् ।

यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६, थीर्थ सतिश ९ र समिरा धर्निधर्क १३ रनमा आउट भइन् भने काविशा कुमारी २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् ।

नेपालका लागि कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् भने कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । यसै गरी, सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् भने कविता जोशीको नाममा १ विकेट लिईन् ।

नेपालको आगामी खेल
६ साउन गते : नेपाल विरुद्ध पाकिस्तान
साउन ८ गते : नेपाल विरुद्ध भारत

फाेटाे- दिपक मल्लिक

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ७ : ४८ बजे