पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

३ असार, पाँचथर । पाँचथर बहुमुखी क्याम्पसको प्रथम सभावाट सोमबार फिदिममा सञ्चालक समिति गठन गरिएको छ ।

क्याम्पस सञ्चालक समिति गठनका लागि भएको निर्वाचनमा सुभराज थापाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति निर्वाचित भएको हो । फिदिम वजार स्थित उद्योण वाणिज्य संघको सभाकक्षमा सोमबार राती सम्पन्न मत गणना अनुसार थापाले ३६८ मत प्राप्त गर्दा अध्यक्ष पदका अर्का उम्मेदवार नवराज घिमिरेले २११ मत मात्र प्राप्त गरे । समितिको उपाध्यक्षमा नविन वुढाथोकी निर्विरोध निर्वाचित भए । उम्मेदवार मनोनयन गरेका लवदेव ढुंगाना र देवी अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध चयन भएका हुन् ।

समितिको खुल्ला ५ सदस्यका लागि भएको निर्वाचनमा लक्ष्मी गौतम, भीमबहादुर कार्की, उमेश अधिकारी, होमकुमार लावती र चन्द्रप्रसाद भट्टराई निर्वाचित भए । विजयी उम्मेदवारहरुले क्रमशः ३९५, ३४९, ३४३, २६६, र २६० मत प्राप्त गरे । यसै गरी, २ महिला सदस्य पदका लागि भएको निर्वाचनमा सावित्रीदेवी गुरुङ र तुलसा तामाङ निर्वाचित भए । गुरुङ र तामाङले क्रमशः ३६९ र २४६ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य युधिष्टिरराज आँमगाईले बताए । खुल्ला सदस्यमा १० र महिला सदस्यमा ४ जना उम्मेदवारहरु निर्वाचनमा सहभागी भएका थिए ।

क्याम्पस सभामा कुल ८७२ मतदाता रहेका थिए । सोमबार विहान ८ वजेदेखि अपरान्ह ५ वजेसम्म सञ्चालन भएको मतदान प्रक्रियामा ६१३ जना मतदाताले मतदान गरेका थिए ।

तीन दशक भन्दा लामो समय पूर्व गृह राज्यमन्त्री दिपक प्रकाश बाँस्कोटाले क्याम्पसको नेतृत्व गरेका थिए । स्नातकोत्तर तहसम्म अध्यापन हुने क्याम्पसले झेल्दै आएको आर्थिक समस्या क्याम्पसले दीर्घकालिन समस्या समाधान गर्न गतसाल अध्यात्म महोत्सव एवं पुराण आयोजना गरी आर्थिक सहयोग संकलन गरेको थियो । सो पुराणमा ११ हजार १ सय ११ भन्दा वढि आर्थिक सयहोग गर्ने दाताहरुलाई क्याम्पस सभाको आजीवन सदस्यता प्रदान गरिएको थियो । यसले गर्दा सञ्चालक समिति गठन गर्न भएको निर्वाचनमा मतदाता वढि देखिएको क्याम्पस प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, मंगलबार  ८ : ४० बजे