पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्।

इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतवार भएको दुर्घटनामा राष्ट्रपतिसँगै विदेशमन्त्री र अन्य धेरैको मृत्यु भएको बताइएको छ। यसअघि समाचारसंस्था रोएटर्सले इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर “पूर्ण रूपमा जलेको” जनाएको थियो। त्यसअघि इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका थिए।

इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकोप्टरमा भएको पुष्टि गरेका थिए। उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य व्यक्तिहरू पनि थिए।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नुपरेको थियो। त्यसपछि उक्त हेलिकोप्टरले ‘हार्ड ल्यान्डिङ’ गर्नुपरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानको सत्तामा अब के हुन्छ ?

इस्लामिक गणतन्त्रको संविधानले राष्ट्रपतिको मृत्यु भएको वा स्वास्थ्या अथवा महाभियोगकाक कारण काम गर्न नसक्ने अवस्थामा सत्ताको नेतृत्व उपराष्ट्रपतिलाई दिने व्यवस्था गरेको छ।

यस्तो अवस्थामा उपराष्ट्रपति मोहम्मद मोखबरले सभामुख र प्रधान न्यायाधीशसँग मिलेर संयुक्त रूपमा राष्ट्रपतिको कामकाज गर्न सक्छन्। इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छ। इरानका सर्वोच्च नेताले त्यसका लागि स्वीकृति दिनुपर्छ।

सरकारी सञ्चारमाध्यमले राष्ट्रपतिको मृत्यु भएको पुष्टि गरिसकेको अवस्थामा इरानमा अब निर्वाचन हुने निश्चित छ। तर अब हुने निर्वाचनमा मतदाताहरूको रुचि कम हुने सम्भावना पनि छ। अघिल्लो चुनावमा रइसीलाई चुनौती दिन सक्ने नेताहरूलाई उम्मेदवार बन्न दिइएको थिएन। कुल मतदाताको ३० प्रतिशत अर्थात् निकै कम मतदान भएको निर्वाचनबाट रइसी राष्ट्रपति चुनिएका थिए।

अधिकांश मतदाताले “मिलेमतो” भइसकेको ठानेर निर्वाचन बहिष्कार गरेका थिए।

बीबीसी न्युजवाट

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १२ : ३३ बजे