पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२ जेठ, पाँचथर । प्रहरीको गोली प्रहारवाट मोरङको रतुवामाई नगरपालिका ६ मा मंगलबार एक भारतीय नागरिक घाईते भएका छन् ।

घाइते हुनेमा ३४ बर्षीय भगिरथ हरिजन रहेका छन् । लागु औषध ओसार पसारको आरोपमा उनलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरी माथि आक्रमण गरेपछि उनी माथि गोली प्रहार गरी गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ ।

घाईते हरिजनको मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भईरहेको छ । खुट्टामा गोली लागेका उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

लागुऔषध खैरो हेरोईनको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टावाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

भारतीय नम्बरको मोटरसाईकल सवार हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै आक्रमण गर्दा एक जना प्रहरी कर्मचारी समेत सामान्य घाईते भएकोले प्रहरीले प्रतिकार स्वरुप दुई राउण्ड गोली तिघ्रामा प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको साथबाट १ सय ४९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध लागु औषध सेवन तथा ओसार पसार सम्बन्धी मुद्दा चलाईने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  २ : १४ बजे