पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुुलाल

४ बैशाख, नवमीडाँडा । फाल्गुनन्द गाउँपालिका वडा नं. १, नवमीडाँडामा सम्पन्न अन्तर जिल्ला आमन्त्रित पुरुष फुट्बल प्रतियोगिताको उपाधी कट्टाडाँगी फुट्बल क्लव (के एफ सी) झापाले हात पारेको छ ।

फाइनल खेलमा नवकिरण स्पोर्टिङ क्लव हल्दिबारी झापालाई शुन्यका विरुद्ध २ गोलले हराउँदै साविक बिजेता कट्टाडाँगी फुट्बल क्लव(के एफ सी) झापाले उपाधी जितेको हो । केएफसीका लागि जर्सी नम्बर ७ का खेलाडी दिपेश श्रेष्ठले दुइ गोल गरेर आफ्नो टिमलाई जित दिलाएका थिए ।

विजेता बनेको कट्टाडाँगी फुट्बल क्लव(के एफ सी) झापाले २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्दा उपविजेता नवकिरण स्पोर्टिङ क्लव हल्दिबारी झापाले १ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाउँनु प¥यो ।

फाइनलमा निर्णयक दुइ गोल गरेका कट्टाडाँगी फुट्बल क्लव(के एफ सी) का दिपेश श्रेष्ठले म्यान अफ द फाइनल म्याच सहित सर्वाधिक गोलकर्ताको पुरस्कार पनि हात पारे । यस्तै कट्टाडाँगी फुट्बल क्लव(के एफ सी) कै विकास टुडु उत्कृष्ट गोलरक्षक,मनिष लिम्बू उत्कृष्ट फरवार्ड तथा निकेश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । नवकिरण स्पोर्टिङ क्लवका सन्जित राईले उत्कृष्ट डिफेन्डर र आयोजक तिजोक यूवा क्लवका पुजन लावतीले उदयमान खेलाडीको उपाधी प्राप्त गरे ।

विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बे, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बे,फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिं नेम्वाङ,फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बे लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रम समापन गर्नुहुँदै आयोजक तिजोक यूवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बेले कार्यक्रम सम्पन्न गर्नका निमित्त सहयोग गर्नुहुने देशविदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरुमा धन्याबाद ज्ञापन गर्नुभयो ।

सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा गत चैत २८ गतेदेखि शुरु भएको फुट्बल प्रतियोगितामा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, मोरङ र सुनसरी जिल्लाका प्रतिष्ठित ८ वटा टिमको सहभागिता रहेको आयोजक तिजोक यूवा क्लवका सचिव कुबेर आङ्देम्बेले जानकारी दिनुभयो ।

नयाँवर्षको अवसरमा तिजोक यूवाक्लव नवमीडाँडाले विगत लामो समयदेखि सञ्चालन गर्दै आएको फूट्बल प्रतियोगिताको यसवर्षको मूख्य प्रायोजक सिजी ब्रुअरी मुस्ताङ वियर रहेको उहाँले बताउँनुभयो ।

नयाँवर्षको अवसरमा बैशाख ३ गते राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, पदम राई,नन्दु गुरुङ लगायतको उपस्थितीमा बृहत सांगितिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । सिमसिम पानी परेको साँझमा कलाकारहरुले हजारौँ दर्शकहरुलाई छमछमी नचाएका थिए ।

खेल अवधिभर नवमीडाँडा बजारमा विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रहरु हाउजी बिङ्गो खेल, रोटेपिङ सहित रमाइलो मेलाको समेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १ : ०६ बजे