पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

२ बैशाख, नवमीडाँडा । फाल्गुनन्द गाउँपालिका वडा नं. १, नवमीडाँडामा जारी अन्तर जिल्ला आमन्त्रित पुरुष फुट्बल प्रतियोगिताको उपाधीका लागि दुई झापाली टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा मंगलबार सञ्चालन हुने फाइनल खेलमा नवकिरण स्पोर्टिङ क्लव झापा र के एफ सि झापाले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

आईतबार भएको अन्तिम सेमीफाइनल खेलमा वाइ एफ सी मोरङलाई शुन्यको विरुद्ध ३ गोलले पराजित गर्दै नवकिरण स्पोर्टिङ क्लव झापाले फाइनलको यात्रा तय गरेको हो । नवकिरण स्पोर्टिङ क्लव झापाको तर्फबाट खेलको १८ औं मिनेटमा सञ्जय धिमालले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको २५ औँ मिनेटमा प्रदिप बुढाथोकीले थप एक गोल गरेका थिए । वाइ एफ सी मोरङले खेलमा पाएको केहि अवसरलाई सद्दुपयोग गर्न नसक्दा सेमीफाइनलबाटै घर फर्किनु परेको छ ।

शनिबार भएको पहिलो सेमी फाइनल खेलमा आयोजक तिजोक यूवा क्लव नवमीडाँडालाई टाइब्रेकरमा हराउँदै के एफ सी झापाले यस अघि नै फाइनलको यात्रा पक्का गरेको हो ।

नयाँवर्षको अवसरमा तिजोक यूवाक्लव नवमीडाँडाले विगत लामो समयदेखि सञ्चालन गर्दै आएको फुट्बल प्रतियोगिताको यस वर्षको मूख्य प्रायोजक सिजी ब्रुअरी मुस्ताङ वियर रहेको छ ।

सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा सञ्चालन भइरहेको फुट्बल प्रतियोगितामा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, मोरङ र सुनसरी जिल्लाका प्रतिष्ठित ८ टिमको सहभागिता रहेको आयोजक तिजोक यूवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बेले बताए । यसवर्षको फूट्बल प्रतियोगिताको बिजेतालाई २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपबिजेतालाई १ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आङ्देम्बेले जानकारी दिए ।

नयाँवर्षको अवसरमा भोलि सोमबार राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, पदम राई,नन्दु गुरुङ लगायतको उपस्थितिमा बृहत सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिने बताइएको छ ।

खेल अवधिभर नवमीडाँडा बजारमा विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रहरु सहित रमाइलो मेलाको समेत आयोजना गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ६ : ४३ बजे