पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौँ —सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआइजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरु समेत सम्मिलित समिति गठन गरेका हुन् ।

सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती संगठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम घरमा आगलागी भएको थियो ।

आगलागीबाट ठूलो धनराशीका सामानहरु जलेर नष्ट भएका छन् । कति सामान जल्यो भनेर यकिन भइनसकेको सशस्त्रले जनाएको छ । घटनापछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र गृह सचिव एकनारायण अर्यालसहितका अधिकारीले समेत बलम्बु पुगेर घटनाका बारेमा जानकारी लिएका थिए ।

मन्त्री लामिछानेले आन्तरिक छानविन समिति बनाएर सत्यतथ्य पत्ता लगाउन निर्देशन दिए लगत्तै महानिरीक्षक अर्यालले एआइजी दाहालको नेतृत्वमा समिति गठन गरेका हुन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछि सशस्त्र प्रहरी बल मुख्यालय हलचोक परीसरमा रहेको गोदामघर भासिएपछि बलम्बुमा सारिएको थियो । अहिले हलचोकस्थित गोदाममा हातहतियार र गोलीगठ्ठामात्रै भण्डारण गरेर अन्य गैरघातक र लत्ताकपडा सहितका उपकरण बलम्बुस्थित छुट्टै घरमा राखिएको थियो ।

गोदाम घरमा ताला लगाएर बाहिरी सुरक्षामा सशस्त्र प्रहरी खटिँदै आएका छन् ।

इ-कान्तिपुरवाट

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १० : ०२ बजे