पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२४ चैत्र, पाँचथर । नयाँ वर्षको अवसरमा फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडामा आयोजना हुने मुस्ताङ अन्तर जिल्ला आमन्त्रित फुटबल प्रतियोगिता २०८०/०८१ को खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगिताको आयोजक श्री तिजोक यूवा क्लबले शनिबार फिदिममा पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष हेमराज आङदेम्बेका अनुसार चैत्र २८ गतेदेखि एक हप्तासम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सभागिता हुनेछ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

नवमीडाँडा स्थित सिद्धदेवी माविकाे खेल मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक तिजोक यूवा क्बल र मैवाखोला गाउँपालिका ताप्लेजुङबीच हुनेछ । दोस्रो क्वाटर फाईनलमा चैत्र २९ गते वाईएफसी मोरङले आठराई गाउँपालिका तेह्रथुमको सामना गर्नेछ । चैत्र ३० गते हुने तेस्रो क्वाटर फाईनल खेल केएफसी झापा र पाथीभरा यूवा क्लब सुनसरीबीच हुनेछ । यसै गरी, वैशाख १ गते हुने अन्तिम क्वाटर फाईनलमा नवकिरण स्पोटिङ क्बल झापाले आत्मा–पवित्र हुक्चात यक्चुम माङसेबुङ इलामको सामना गर्नेछ । सोही दिन समूह ए तर्फको पहिलो सेमिफाईल र वैशाख २ गते दोस्रो सेमिफाईनल खेल हुनेछ । प्रतियोगिताको फाईनल खेल वैशाख ४ गते हुने आयोजक तिजोक यूवा क्बलका अध्यक्ष आङदेम्बेले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछ । यसै गरी, उपविजेतालाई १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक क्बलका सचिव कुबेर आङदेम्बेले बताए । प्रत्येक खेलमा म्यान अफ दि म्याद घोषणा गरी नगद रु १ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने उनले जानकारी दिए । यसै गरी, प्रतियोगितामा म्यान अफ दि सिरिज, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट फरवार्ड र हाई स्कोरर छनोट गरी जनही २ हजार नगद सहित सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार ९ जना खेलाडी सम्मिलित टिमको सहभागिता हुने र खेलाडीहरुको संभावित दुर्घटनालाई मध्यनजर गरी विमा समेत गरिएको छ । प्रतियोगितामा सहभागी हुने पहिलो चरणदेखि सेमिफाईनलसम्म खेल्ने क्लबहरुलाई फेयरको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा प्रयोग गर्ने जर्सी समेत प्रदर्शन गरिएको थियो ।

मेला समेत लगाईने

नवमीडाँडामा नयाँ वर्षको अवसरमा सञ्चालन गरिने फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै मेला समेत लगाईने आयोजक तिजोक यूवा क्लबका अध्यक्ष हेमराज आङदेम्बेले बताए । मेलामा मनोरञ्जनका लागि रोटेपिङ, हाउजी खेल, साँस्कृतिक कार्यक्रम र मोटरसाईकल स्लो रेस प्रतियोगिता आयोजना गरिने अध्यक्ष आङदेम्बेले जानकारी दिए । रोटेपिङ दैनिक रुपमा हुने, हाउजी चैत्र २८, वैशाख १ र ३ गते आयोजना गरिनेछ भने स्लो रेस मोटरसाईकल वैशाख ४ गते आयोजना गरिनेछ । विभिन्न राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती हुने साँस्कृतिक कार्यक्रम वैशाख ३ गते सञ्चालन गरिने अध्यक्ष आङदेम्बेले जानकारी दिए ।

वजेट व्यवस्थानमा कठिनाई

तिजोक यूवा क्बलले आयोजना गर्ने फुटबल प्रतियोगिता एवं मेला सम्पन्न गर्न आर्थिक कठिनाई हुने देखिएको छ । जम्मा १६ लाख लागत अनुमान गरिएको अन्तर जिल्ला आमन्त्रित फुटबल प्रतियोगिताको मूख्य प्रायोजक सीजी ब्रुअरी मुस्ताङ वियर रहेको छ भने वडा कार्यालय र गाउँपालिकाले क्रमशः १ लाख र १ लाख ५० हजार मात्र आर्थिक सहयोग गरेको अध्यक्ष आङदेम्बेले बताए । बाँकी रकम खेलप्रेमी सहयोगी दाताहरुवाट आर्थिक सहयोग संकलन गरिने उनले जानकारी दिए । जिल्लामा हुने विभिन्न प्रतियोगिताहरुले आर्थिक समस्या झेल्दै आएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ५ : ४९ बजे