पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१२ चैत्र, पाँचथर । पाँचौं कुम्मायक गोल्डकप– २०८० को उद्घाटन खेलमा उपस्थित नभएपछि मिक्लाजुङ गाउँपालिकालाई आयोजकले आगामी दुई संस्करणको खेलमा प्रतिबन्ध लगाएको छ ।

प्रतियोगिताको पूर्व निर्धारित खेलतालिका अनुसार खेलाडीहरु उपस्थित नभएपछि मिक्लाजुङलाई आयोजक कुम्मायक स्पोर्टिङ क्लबले प्रतिबन्ध लगाएको हो । कुम्मायक स्पोर्टिङ क्बलका अध्यक्ष खेमराज निरौलाद्धारा आईतबार जारी विजप्तीमा मिक्लाजुङलाई कारबाही गरिएको उल्लेख छ । “कुम्मायक गोल्डकप २०८० सञ्चालन नियमावलीको नियम १८, दफा (क) बमोजिम कम्तिमा २ (दुई) प्रतियोगितामा मिक्लाजुङ गाउँपालिकाको टिमलाई सहभागी नगराउने निर्णय गरिएको छ” – विज्ञप्तीमा भनिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा विपक्षी टिम उपस्थित नभएपछि वाकओभरका आधारमा कुम्मायक गाउँपालिका सेमिफाईनल प्रवेश गरेको छ । मिक्लाजुङ गाउँपालिकाले भने समन्वयको अभावका कारण प्रतियोगितामा सहभागी हुन नसकेको जनाएको छ ।

प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा आज याङवरक गाउँपालिका र फिदिम नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा तुम्बेवा गाउँपालिकाले हिलिहाङ गाउँपालिकाको सामना गर्नेछ । प्रतियोगितामा मिक्लाजुङ बाहेक पाँचथरका अन्य सवै स्थानीय तहले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन् । यसै गरी, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाईनल खेल आगामी चैत्र १५ गते हुनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : ५० बजे