पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

९ चैत्र, पाँचथर । गणेशमान सिंह सामुदायिक हस्पिटलले फिदिम नपा ४ स्थित जागृति आधारभूत विद्यालयमा शुक्रबार आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरवाट ५४ विद्यार्थी लाभान्वित भएका छन् ।

विद्यालय परिसरमा आयोजना गरिएको शिविरवाट २७ छात्र र २७ छात्रा गरी ५४ जना विद्यार्थीहरु लाभान्वित भएका हुन् । शिविरमा अस्पतालका स्वास्थ्यकर्मीले विद्यार्थीहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरेका थिए । विद्यार्थीहरुमा रुघाखोकी, ज्वरो जस्ता रोगहरु देखिएको अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. राजकुमार धौगोडाले बताए । स्वास्थ्य अवस्था जटिल देखिएका विरामीहरुलाई थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पतालमा बोलाइएको र सामान्य अवस्थाका विरामीलाई शिविरमा नै औषधी वितरण गरिएको अस्पतालका स्वास्थ्य सहायक (एचए) शिशिर आङबोले बताए ।

अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालय छनोट गरी स्वास्थ्य शिविर आयोजना गरिएको अस्पतालका सञ्चालक उमेश राईले बताए । शिविरमा स्वास्थ्य परीक्षण एवं औषधी समेत निशुल्क वितरण गरिएको उनले जानकारी दिए ।

विद्यालयमा आवासीय रुपमा पठन पाठन गर्ने विद्यार्थीहरु विरामी पर्न थालेकाले शिविर आयोजना गर्न अस्पताललाई अनुरोध गरिएको सो विद्यालयका प्रधानाध्यापक डिल्ली लुईटेलले बताए । सो विद्यालयमा पाँचथर सहित ताप्लेजुङ र तेह्रथुमका विद्यार्थीहरु समेत अध्ययनरत रहेको प्रधानाध्यापक लुईटेलले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ८ : ०५ बजे