पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१ चैत्र, काठमाण्डाै – धरानबाट भोजपुरकाे घोरेटारतर्फ जाँदै गरेको जीप उदयपुरकाे मैनामैनीमा दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या आठ जना पुगेको छ । सात जनाकाे घटनास्थलमै र थप एक जनाको उपचारका क्रममा धरानकाे बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएकाे प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका सबै जनाकाे परिचय खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ज्यान गुमाउनेमा सुनसरीकाे इटहरी–९ का जीप चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी–२ की ७० वर्षीया पर्वतमाया राई, त्यही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राई रहेका छन् । किशन राईको उपचारका क्रममा ज्यान गएकाे हो ।

दुर्घटनामा घाइते भएका नाै जनाकाे बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट सात र हसनपुरबाट पाँच गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाएको उदयपुर प्रहरीले जनाएकाे छ ।

आज दिउँसाे धरानबाट भोजपुरकाे घोरेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो । जीपमा क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

साभार- उज्यालो अनलाईन, तस्विर- ईनागरिक

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ७ : २९ बजे