पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

फागुन ३०, पाँचथर । १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८० को उपाधी फिदिम नगरपालिकाको पोल्टामा परेको छ ।

फिदिम माविको खेलमैदानमा बुधबार सम्पन्न प्रतियोगितामा २६ स्वर्ण, १९ रजत र ८ कास्य सहित कुल ५३ पदक सहित फिदिम नगरपालिकाले उपाधी हात पारेको हो । लगातार तीन पटक उपाधी हात पारेसँगै फिदिम नगरपालिकाले रनिङ शिल्ड कब्जा समेत गरेको छ ।

प्रतियोगितामा याङवरक गाउँपालिकाले २० स्वर्ण, १६ रजत र ११ कास्य सहित जम्मा ४७ पदक हात पार्दै दोस्रो स्थान हासिँल गरेको छ । तेस्रो स्थान प्राप्त गरेको फालेलुङ गाउँपालिकाले ७ स्वर्ण, ३ रजत र ४ कास्य सहित कुल १४ पदक हात पारेको छ । यसै गरी, मिक्लाजुङ गाउँपालिकाले ६ स्वर्ण, १० कास्य र ११ रजत सहित कुल २७ पदक हात पार्दै चौथौं स्थान ओगटेको छ भने ३ स्वर्ण, ४ रजत र ९ कास्य हात पारेको फाल्गुनन्द गाउँपालिका पाँचांैं स्थानमा रहेको छ ।

छैटौं स्थान हाँसिल गरको हिलिहाङ गाउँपालिकाले २ स्वर्ण, १० रजत र ६ कास्य सहित १८ पदक हात पारेको छ भने कुम्मायक गाउँपालिकाले २ स्वर्ण, ३ रजत सहित ५ पदक हात पारेको छ । कुनै पनि विधामा स्वर्ण पदक हात पार्न नसकेको तुम्बेवा गाउँपालिकाले १ रजत र २ कास्य पदक गरी कुल ३ पदक मात्र प्राप्त गर्दै अन्तिममा रह्यो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका आठ ओटै स्थानीय तहवाट छनोट भएका ६ सय ११ जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा सबै भन्दा धेरै फिदिम नगरपालिका र याङवरक गाउँपालिकाबाट समान १ सय १० जना र सवै भन्दा कम फालेलुङ गाउँपालिकाबाट ३६ जना विद्यार्र्थीहरु सहभागी भएका थिए । फाल्गुनन्द र कुम्मायक गाउँपालिकाबाट समान ८०, मिक्लाजुङ गाउँपालिकाबाट ८८, तुम्बेवा गाउँपालिकाबाट ४९ र हिलिहाङ गाउँपालिकाबाट ५८ जना विद्यार्थी सहभागी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले बताए ।

प्रतियोगिताको उद्घाटन सत्रमा विदार्थीहरुले मार्च पास गरेका थिए भने कलाकारहरुले विभिन्न साँस्कृतिक झाँकी र नृत्य समेत प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिका उपप्रमुख यामबहादुर आङबोको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा स्थानीय तहका पदाधिकारी, जिल्ला स्थित राजनीतिक दलका नेता, कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ७ : ५७ बजे