पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२७ फागुन, पाँचथर । छ बुँदे घोषणा पत्र जारी गर्दै माङगेना यक सम्बन्धी ऐतिहासिक भेला शनिबार याङवरक गाउँपालिका २ फलैचामा सम्पन्न भएको छ ।

भेलाले जारी गरेको घोषणा पत्रमा माङ्गेना यकको अर्थ एवं महत्व स्थानीय पाठ्यक्रममा समावेश गर्न याङवरक गाउँपालिकालाई ज्ञापन पत्र हस्तान्तरण गर्ने, माङगेना यकको प्रवद्धनका लागि कम्तीमा तीन वर्षमा एक पटक व्यापक भेला गरी पूजा सहितको वृहत कार्यक्रम आयोजना गर्ने उल्लेख गरिएको छ । यकमा आवत जावतका सहजताका लागि बाटोको स्तरोन्नती गर्ने, यकको मौलिकतालाई असर गर्ने गरी कुनै पनि कृतिम संरचनाहरु निर्माण गर्न नदिने र सो स्थानको प्रचार प्रसार गरी पर्यटन केन्द्रको रुपमा विकास गर्ने भनी घोषणा पत्रमा उल्लेख गरिएको छ । यसै गरी, सो स्थानको दीर्घकालिन विकासका लागि संरक्षण तथा प्रवद्धन समिति गठन गर्ने समेत घोषणा पत्रमा समावेश गरिएको छ ।

आदिवासी जनजाति लिम्बू समुदायमा माङगेना यकको साँस्कृतिक, धार्मिक महत्व रहेको छ । लिम्बू समुदायले माङगेना यकलाई उत्पती स्थल मात्र नभएर अराध्य स्थलका रुपमा समेत लिने गरेको छन् । यसका लागि माङगेना यक सम्बन्धी भेला एवं पूजा कार्यक्रम आयाजना गरिएको बेघा थोबोजुमका अध्यक्ष मचिन्द्रप्रसाद बेघाले बताए । बेघाका अनुसार सो स्थललाई ६० भन्दा वढि थरका लिम्बू समुदायले यककमा रुपमा मान्ने गरेका छन् ।

भेलाको उद्घाटन सत्रका प्रमुख अतिथि याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङया (सुवास) ले साँस्कृतिक धार्मिक सम्पदाको संरक्षण गर्ने दायित्व राज्यको भएको बताए । ऐतिहासिक स्थलको प्रचार प्रसारमा कमी भएको भन्दै विभिन्न योजना निर्माण तथा कार्यान्वयन गर्ने गैरसरकारी संस्था एवं राज्यका निकायहरुले अब यस्ता स्थलहरुको संरक्षण एवं प्रवद्धनमा लाग्न उनले सुझाव दिए । राजनीतिक दलहरुले सरकार गठन र विगठनमा मात्र समय खर्चिरहेको औल्याउँदै उनले स्थानीय स्तरमा सवै पक्ष मिलेर सभ्य समाज निर्माणमा लागि पर्न उनले आग्रह गरे । साथै, माङगेना यकको विकासका लागि स्थानीय सरकारले गर्ने सवै किसिमका सहयोग गर्न तयार रहेको समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

भेलालाई संबोधन गर्दै याङवरक गाउँपालिका ४ का वडाअध्यक्ष सविन माबोले ऐतिहासिक स्थल ओझेलमा रहेकाले यसको विकासका लागि सवै पक्षलाई लाग्न आग्रह गरे । सो स्थलको संरक्षणका लागि वडाको तर्फवाट ५५ हजार ५ सय ५५ रुपैया सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । वडा नं. २ का अध्यक्ष देउकुमार योङहाङले माङगेना यकको विकासका लागि वडाको तर्फवाट आर्थिक सहयोग मात्र नभएर विभिन्न निकायहरुसँग समन्वय गर्ने समेत बताए । यसै गरी, ताप्लेजुङको सिदिङबा गाउँपालिका २ का वडाअध्यक्ष पूर्ण माङमुले वडाको तर्फवाट साँस्कृतिक स्थलहरुको संरक्षणका लागि गरिने कार्यक्रममा सहयोग गरिने बताए ।

भेलालाई नेपाली काँग्रेसका पूर्व उपसभापति राजेन्द तिमल्सेना, नेकपा एमाले २ नं. वडा कमिटिका सचिव लक्ष्मी चिमरियाले समेत संबोधन गरेका थिए । माङगेना यकको महत्वका विषयमा महेन्द सेलिङले जानकारी गराएका थिए ।

बेघा थोबोजुमका अध्यक्ष मचिन्द्रप्रसाद बेघाको अध्यक्षतामा सम्पन्न भेलालाई महासचिव मंगल बेघाले सञ्चालन गरेका थिए भने योङया कुल वंश बन्धु प्रतिष्ठानका चन्द्र योङयाले स्थागत मन्तव्य राखेका थिए । कार्यक्रम बेघा थोबोजुम सहित सेलिङ एकता समाज, माङमु वंशावली उत्थान समाज र योङया कुल बंश बन्धु प्रतिष्ठानले आयोजना गरेका हुन् ।

समिति गठन
भेलाको बन्दसत्रले मचिन्द्रप्रसाद बेघाको अध्यक्षतामा माङगेना यक संरक्षण एवं प्रवद्धन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा महेन्द्र सेलिङ, सचिव श्रवण योङया, सहसचिव मानप्रकाश नुगो र कोषाध्यक्षमा चन्द्रबीर माङमु चयन भएका छन् । यसै गरी, सदस्यहरुमा सविन माबो, देउकुमार योङहाङ र राजकुमार योक्पाङदेन चयन भएका छन् । अन्य थरलाई पनि समेटेर समितिलाई पूर्णता दिईने अध्यक्ष मचिन्द्रप्रसाद बेघाले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ३ : ४९ बजे