पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१७ फागुन, पाँचथर । वाइवाइ चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता- २०८० मा त्रिभूवन आर्मी क्बल फाईनल प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा बिहिबार सम्पन्न दोस्रो सेमिफाईनलमा झापा ११ लाई टाईब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मी फाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि सोझै पेनाल्टीवाट निर्णय लिइएको थियो । पेनाल्टीमा आर्मीका सन्तोष केसी, दिपकुमार लामा र मन बहादुर आले मगरले गोल गरेका थिए । यसै गरी, झापावाट पहिलो प्रहार लिएका पेमा तामाङ र तेस्रो प्रहार लिएका विशाल तामाङको बल गोल पोष्टमा लागेर रिबाउण्ड भएको थियो भने दोस्रो प्रहार लिएका रोजिन माझीको बल आर्मीका गोलकिपर नविन परियारले बचाएका थिए ।

दुवै टोलीले दोस्रो हाफमा समान १–१ गोल गरेका थिए । खेलको ४३ औं मिनेटमा आर्मीका सब्टिच्युड खेलाडी दिपकुमार लामाले विपक्षी डिफेन्डरलाई विट गर्दै गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । उनको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले पञ्च गरे पनि डिफ्लेक्ट हुँदै जाली चुमेको थियो । झपाले पेनाल्टी मार्फत बराबरी गोल फर्काएको थियो । खेलको ५७ औं मिनेटमा हरिबहादुर आले मगरलाई विपक्षी खेलाडीलो डिबक्सभित्र लडाएपछि रेफ्रि श्याम दनुवारले पेनाल्टी दिएका थिए । पेनाल्टी लिएका प्रदिप बुढाथोकीको प्रहार सोझै गोलमा परिणत भएको थियो । यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल टाईब्रेकरमा धकेलिएको थियो ।

दर्शकले भरिभराउ खेलमैदानमा दुवै टोलीले गोल गर्ने अवसर खेर फालेका थिए । पहिलो हाफको ८ औं मिनेटमा झापाका दिशान्त राईले डिबक्स नजिकैवाट गरेको प्रहार खेर गयो । २० औं मिनेटमा झापाकै बबिन बोहोराले पेनाल्टी क्षेत्रभित्र पाएको सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेनन् । आर्मीका रमेश भुजेलले २५ औ मिनेटमा डिबक्सभित्रवाट गरेको प्रहार पोष्ट बाहिर गयो । लगत्तै झापाका विशाल तामाङले लामो दुरीवाट गरेको प्रहार फ्रेममा पर्न सकेन भने २९ औं मिनेटमा प्रदिप बुढाथोकीले समेत गोल पोष्ट बाहिर प्रहार गरे । खेलको ३७ औ मिनेटमा झापाका मनिश लिम्बूले वान भर्सेस वानको अवसरलाई पोष्ट बाहिर प्रहार गरे ।

दोस्रो हाफको सुरुवातमै गोल व्यहोरेको झापाले लगातार आक्रमण बुनेको थियो । ४७ औ मिनेटमा झापाका पेमा तामाङले फ्रिकिकवाट गरेको प्रहार आर्मीका गोलकिपर नविन परियारले नियन्त्रणमा लिएका थिए । खेलको ४९ औं मिनेटमा पेमा तामाङले थ्रोवाट डिबक्सभित्र फालेको बललाई प्रदिप बुढाथोकीले पोष्टको दिशा दिन सकेनन् । उनको हेडर गोलपोष्ट नजिकैवाट बाहिरिएको थियो । खेलको ६५ औं र ७० औं मिनेटमा आर्मीका सन्तोष केसीले फ्रिकिकवाट गरेको शक्तिशाली प्रहारमा झापाका गोल रक्षक बाधक बने ।

दोस्रो सेमिफाईनल खेलको म्यान अफ दि म्याद आर्मीका दिपकुमार लामा घोषित भए । उनले नगद रु ५ हजार पुरस्कार प्राप्त गरे । यसै गरी, प्mयान अफ दि म्याच निश्चल बाँस्कोटा घोषित भए । उनले रु २ हजार ५ सय पुरस्कार पाए ।
प्रतियोगिताको आगामी शनिबार हुने फाईनलमा त्रिभूवन आर्मी क्लब र आयोजक पाँचथर क्लब आमने सामने हुने भएका छन् । बुधबार सम्पन्न पहिलो समेमिफाईनलमा आयोजकले बागमती युथ क्लब सर्लाहीलाई १–० ले पाखा लगाउँदै फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कारका साथै ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसै गरी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही रु १० हजार पुरस्कार पाउने आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईले बताए । प्रतियोगिताको उदयमान र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पुरस्कार प्राप्त गर्ने सचिव सेढाईले जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ९ : ०६ बजे