पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१४ फागुन, पाँचथर। चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगितामा मोरङको पथरी ११ लाई पराजित पार्दै राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाही सेमीफाइनलमा प्रवेश गरेको छ। फिदिम माविको खेलमैदानमा सोमबार सम्पन्न तेस्रो क्वाटर फाईनलमा मोरङ विरुद्ध टाइब्रेकरमा ४–१ को जित दर्ता गर्दै वागमती सेमिफाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा बाग्मतीका देवा गुरुङ, अवि लामा, निर्मल वल र अनिल राना मगरले गोल गरे । मोरङको लागि निरज परियार गोल गर्दा जोन ग्लोरी र मञ्जिल खड्काको प्रहार बाग्मतीका गोलरक्षक रौनक चौलागाईले बचाएका थिए।

मोरङको दुई प्रहार रोकेका रौनकले खेलको म्यान अफ् दि म्याच चुनिए । उनले नगद ५ हजार पुरस्कार प्राप्त गरे । अब बाग्मतीले सेमिफाईनलमा आयोजक पाँचथर क्लवको सामना गर्नेछ । प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा मंगलबार पाहुना टोली भारतको हिल्स फुटवल एकेडेमीले ‘ए’ डिविजन त्रिभुवन आर्मी क्लवको सामना गर्नेछ।

प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले बताए । प्रतियोगितामा म्यान अफ दि म्याचले नगद ५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले समान १० हजार प्राप्त गर्ने छन् । उदीयमान खेलाडी र प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले समान नगद १५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा हरेक दिन सुटआउट हिरोले नगद २ हजार ५ सय र फ्यान अफ दि म्याच हुने दर्शकले नगद २ हजार ५ सय प्राप्त गर्ने अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ०२ बजे