पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए ।

भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको संगीतकार सापकोटाले बताए ।

संगीतकार हरि लम्सालका अनुसार अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो । गत दशैंमा लडेर टाउकोमा चोट लागेको थियो ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् ।

आचार्यको निधनप्रति संगीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘जहाँ छन् बुद्धका आँखा… अब यो जादुमय स्वर इतिहास भएको छ । हार्दिक श्रद्धासुमन भजन शिरोमणि भक्तराज आचार्य ! कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ । तीन वर्ष अगाडिको उहाँसँगको भेट सम्झिरहेको छु ।’

अनलाइन खबरवाट

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : २७ बजे