पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१३ फागुन, पाँचथर । चौथो संस्करणको पाँचथर गोल्डकप प्रतियोगिताको दोस्रो क्वाटर फाईनलमा रेडहर्स फुटबल क्लब इलामलाई पराजित गर्दै झापा ११ फुटबल क्लब सेमिफाइनल प्रबेश गरेको छ । फिदिम माविको खेलमैदानमा आईतबार सम्पन्न खेलमा इलामलाई १-० गोल अन्तरको कठीन जित दर्ता गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।

दुवै टोलीले पहिलो हाफ शून्य शून्यको बराबरी खेलेका थिए । ६४ औं मिनेटमा झापाका प्रदिप बुढाथोकीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । झापाका निकेश श्रेष्ठकाे फ्रिकिक प्रहारमा प्रदिप बुढाथोकीले हेड मार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न नसक्दा रेडहर्स इलाम पहिलो खेलवाट नै बाहिरिन बाँध्य भयो । खेलको ६०, ७२ र ७७ औ मिनेटमा गोलको अवसर गुमाएका थिए । ७४ औं मिनेटमा झापाका बबिन बोहोर वान भर्सेज वानको अवस्थामा गोल गर्न चुके । ७५ औं मिनेटमा झापाको प्रदिप बुढाथोकीको शक्तिशाली प्रहार इलामका विकेक मगरले पञ्च गर्दै बचाए ।

स्थानीय खेलाडी मात्र समेटेर पाँचथर आएको झापाले ३ बिदेशी खेलाडी सहितको रेडहर्स संग प्रतिस्पर्धा गरेको थियो । ए डिभिजन र नेपाल सुपर लिग खेलेका अनुभवी खेलाडी लिएर उत्रेको रेडहर्स पहिलो खेलमै स्तब्ध बन्यो ।

खेलमा गोल गरेका झापाका प्रदिप बुढाथोकी म्यान अफ दि म्याच बन्दै ५ हजार रुपैयाँ प्राप्त गरे । झरना खबास खेलको फ्यान अफ दि म्याच भइन । सुटआउट हिरो देबिका गुरुङ बनिन् । दुबैले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले बताए । प्रतियोगितामा म्यान अफ दि म्याचले नगद ५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले समान १० हजार प्राप्त गर्ने छन् । उदीयमान खेलाडी र प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले समान नगद १५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा हरेक दिन सुटआउट हिरोले नगद २ हजार ५ सय र फ्यान अफ दि म्याच हुने दर्शकले नगद २ हजार ५ सय प्राप्त गर्ने अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

प्रतियोगिताको तेस्रो क्वाटर फाईनलमा मंगलबार पथरी ११ र बाग्मती फुटबल क्लब सर्लाहबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १० : २१ बजे