पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१२ फागुन, पाँचथर । चौथो पाँचथर गोल्डकप प्रतियोगितामा आयोजक पाँचथर क्लबले बिजयी सुरुआत गरेको छ । फिदिम माविको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा नमोबुद्ध युथ क्लब सप्तरीलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा आयोजकले सुखद सुवात गरेको हो ।

आयोजक पाँचथर क्लबको जितमा शुकराज राईले ह्याट्रिक गरेका थिए । खेलको ८ औं मिनेटमा पाँचथरका गोल गर्दै राईले टोलीलाई अग्रता दिलाएका थिए । गोलरक्षकले बल क्लियर गर्न नसक्दा उनले गोल गरेका थिए । खेलको ३३ औं मिनेटमा उनले नै गोल गर्दै अग्रता दोब्बर पारेका थिए । खेलमैदानको मध्यभागबाट बल आफैले लगेर शुकराजले सुन्दर गोल गरेका थिए । ६१ औं मिनेट पुन: गोल गर्दै उनले टिमकाे जित सुनिश्चित मात्र गरेनन्, ह्याट्रिक समेत पूरा गरे । यस पटक उनले जमिन लक्समको पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए ।

ए डिभिजन र नेपाल सुपर लिग खेलेका अनुभवि खेलाडीहरु लिएर आएको नमोबुद्ध पहिलो खेलमै स्तब्ध बन्यो । खेलको दोश्रो हाफमा केहि सुधारीएको खेल प्रर्दशन गरे पनि नमोबुद्ध खेलमा फर्कन सकेन । दोश्रो हाफमा नमोबुद्धले केहि राम्रा आक्रमण बुने पनि खेलमा गोल गर्न सकेन । ७० औं मिनेटमा नमोबुद्धका सुदिप लामाको प्रहार आकाशियो । ७४ औ मिनेटमा नमोबुद्धका सरोज तामाङको प्रहार पाँचथरका गोल रक्षक मिराक खजुमले मुस्किलले बचाएका थिए ।

खेलाडीहरुको तालमेन मिल्न नसक्दा खेलमा पराजित हुन् परेको नमोबुद्धका प्रशिक्षक सुरेश लामाले बताए । खेलाडीहरुले रणनीति अनुसार खेलेकाले जित हाँसिल भएको पाँचथरका प्रशिक्षक मिलन जबेगुले बताए ।

खेलमा ह्याट्रिक गरेका शुकराज म्यान अफ दि म्याच बने । उनले नगद ५ हजार प्राप्त गरे । उद्धाटन खेलको फ्यान अफ दि म्याच उग्रेन तामाङ बने । सुटआउट हिरो राजेश राई बने । दुबैले जनही २ हजार ५ सय पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको उद्घाट्न युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले गरेका थिए । व्यक्तिगत स्वास्थयका लागि मात्र नभएर कुनै पनि मुलुकलाई अन्तराष्ट्रिय जगतमा चिनाउने माध्यम खेलकुद भएको हुनाले राज्यले यस तर्फ लगानी वढाउनु पर्नेमा मन्त्रीको जोड थियो । निर्माणाधिन फिदिम माविको खेल मैदान समयमा सम्पन्न गर्न समेत मन्त्री लिम्बूले निर्माण व्यावसायीलाई निर्देशन दिए ।

प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले बताए । प्रतियोगितामा म्यान अफ दि म्याचले नगद ५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले समान १० हजार प्राप्त गर्ने छन् । उदीयमान खेलाडी र प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले समान नगद १५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा हरेक दिन सुटआउट हिरोले नगद २ हजार ५ सय र फ्यान अफ दि म्याच हुने दर्शकले नगद २ हजार ५ सय प्राप्त गर्ने अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटर फाईनलमा आइतबार झापा ११ बिरुद्ध रेडहर्स फुटबल क्लब इलाम आमसे सामने हुनेछन् । खेल दिउँसो २ वजेवाट फिदिम माविको खेलमैदानमा हुने आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईले बताए । प्रतियोगिताको फाइनल खेल फाल्गुन १९ गते हुने छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १० : २९ बजे