पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१२ फागुन, पाँचथर । जिल्ला सदरमुकाम फिदिममा शुक्रबार सम्पन्न प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितावाट ६ जना खेलाडी छनोट भएका छन् ।

प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा जिल्ला खेलकुद विकास समिति पाँचथरद्धारा सञ्चालित प्रतियोगितामा ३ महिला र ३ पुरुष गरी जम्मा ६ जना ब्याडमिन्टन खेलाडी छनोट भएका हुन् । एकल महिला र एकल पुरुष विधामा खेलाडीले गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको सहायक रेफ्री भवानी विक्रम आङदेम्बेले बताए ।

छनोट भएका महिला खेलाडीहरु सीमा राजबंशी, अन्जना राई र रोजी राई

पुरुष तर्फ भोजपुरका विशाल तामाङ, ताप्लेजुङका मिलन गुरुङ र तेह्रथुमका विवेक कन्दङवा छनोट भएका छन् । प्रतियोगिताको फाईनलमा तामाङले गुरुङलाई हराएका थिए । यसै गरी, समान तृतीय स्थान हाँसिल गरेका भोजपुरका विवेक श्रेष्ठले अन्तिम छनोट खेल छोडेपछि कन्दङ्वाले सोझै अन्तिम तीनमा बनाएका हुन् ।

छनोट भएका पुरुष खेलाडीहरु विशाल तामाङ, मिलन गुरुङ र विवेक कन्दङवा

प्रदेश स्तरीय टिम निर्माणका लागि छनोट भएका महिला खेलाडीहरुमा मोरङकी सीमा राजबंशी, झापाकी अन्जना राई र उदयुपरकी रोजी राई रहेका छन् । यी तिनै जना खेलाडीले उक्त प्रतियोगितामा क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गरेका थिए । फाईनलमा सीमाले अञ्जनालाई हराएकी थिईन भने तृतीय स्थान हाँसिल गरेकी पाँचथरकी छाँया केरुङलाई छनोटको अन्तिम खेलमा पराजित गर्दै रोजीले अन्तिम तीनमा स्थान सुरक्षित गरिन् ।

वागमती प्रदेशको आयोजनामा हेटौडामा फागुन २४ देखि ३० गतेसम्म सञ्चालन हुने अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुने ब्याडमिन्टन खेलाडी छनोट गरिएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले बताए । छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षण सञ्चालन गरी उपाधी दिलाउन प्रयास गरिने सदस्य सचिव वाग्लेले जानकारी दिए ।

प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा जिल्ला खेलकुद विकास समितिले फागुन ९ देखि ११ गतेसम्म प्रतियोगिता सञ्चान गरेको थियो । सोही क्रममा फिदिम नगरपालिकाको सहयोगमा खुल्ला भेट्रान्स प्रतियोगिता समेत आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ९ : ३६ बजे