पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

११ फागुन, पाँचथर । पाँचथरमा प्रदेश स्तरीय र खुल्ला भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रदेश स्तरीय तर्फ ५ र भेट्रान्स तर्फ २ गरी जम्मा सात बिधाका फाईनल खेलहरु सम्पन्न भएका हुन् ।

प्रतियोगितामा महिला एकल विधाको उपाधी मोरङकी सिमा राजवंशी जितेकी छिन् । सिमाले फाइनलमा झापाकी अञ्जना राईलाई १७-२१, २१-१५, २१-१९ को सेटमा हराउदै उपाधी जितेकी हुन् । यस्तै, पुरुष एकलको उपाधी भोजपुरका बिशाल तामाङले जितेका छन् । तामाङले सेमिफाइनलमा ताप्लेजुङका मिलन गुरुङलाई २१-१२, २१-१३ को सोझो सेटमा हराउदै उपाधि जिते ।

पुरुष युगलको उपाधी तेह्रथुमका बिकेक कन्दवा र नबिन सिल्वालको जोडीले जितेका छन् । कन्दवा र सिल्वालको जोडीले भोजपुरका बिकेक श्रेष्ठ र बिशाल तामाङको जोडीलाई हराउदै उपाधि जितेका हुन् । उनिहरुले २१-१६, १६-२१ र २१-१७ को सेटमा बिजयी भए ।

महिला युगलको उपाधि खोटाङका रेनुका राई र समिता राईको जोडीले जिते । उनिहरुले सुनसरीका योगीता लिम्ब र सृष्टि राईको जोडीलाई २१-१७, २१-१२ को सेटमा जित निकाले ।

मिश्रित युगलको उपाधी मोरङका सुप्रिम पन्त र सिमा राजबंशीको जोडीले जितेका छन् । उनिहरुले पाँचथरका दिशस शंकर र छाया केरुङको जोडीलाई १७- २१, २१-१५ र २१-१९को सेटमा हराउदै उपाधि जितेका हुन् ।

प्रदेश स्तरीय प्रतियोगितको सवै विधाका विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले क्रमशः जनही रु २० हजार, १० हजार ५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पारे । प्रतियोगिताको उदयमान खेलाडी पाँचथरकी छाँया केरुङ छानिन् । उनले नगद रु ५ हजार प्राप्त गरिन् ।

भेट्रान्स तर्फ ४५ वर्ष माथिको उपाधि पाँचथरका सन्तोष मोक्तान र अनिल थाम्सुहाङको जोडीले जितेका छन् । उनिहरुले पाँचथरका दिपक आङदेम्बे र धनकुटाका शिखर श्रेष्ठको जोडीलाई २१-१६, १९-२१ र २१-१४ को सेटमा जित निकालेका हुन् ।
भेट्रान्स तर्फकै १०० वर्ष माथिको उमेर समुहको बिजेता झापाका प्रकाश राई र मोरङका उत्तम सिंखडा बने । उस विधाको उपविजेता सन्तोष कटुवाल (उदयपुर) र दिपक राई (खोटाङ) बने । दुवै विधाका विजेताले ३० हजार नगद, ट्रफी मेडल र प्रमाण पत्र हात पारे भने उपविजेताले १५ हजार नगद ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझाए ।

प्रतियोगितको विजेता, उपविजेता र तृतीय स्थान हाँसिल गर्ने खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका हुन् । प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिती पाँचथरको कभर्डहलमा संचालन भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ९ : २१ बजे