पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्वापो

फिदिम । राष्ट्रपति रामचन्द्र पौडेलले देशको लागि पहिलो खाँचो सुशासनको रहेको बताउनु भएको छ । उहाँले देशको समृद्धिको आधार–कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको प्रचुर विकासका लागि सुशासन हुनु जरुरी रहेको सुनाउनुभयो ।
जिल्ला सदरमुकाम फिदिममा पाँचथर बहुमुखी क्याम्पसद्वारा बुधबार आयोजित बहुधार्मिक अध्यात्मिक महोत्सव–२०८० को उद्घाटन गर्दै आफू आज पनि सुशासनकै एजेन्डामा उभिएको बताउनुभयो । देशको सुव्यवस्था कायम राख्नमा आम नागरिकको भूमिका पनि विशेष र महत्वपूर्ण हुने उहाँले सुनाउनुभयो ।

यसै क्रममा उहाँले थप्नुभयो, ‘श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ । यीनै विषयमा हाम्रो शिक्षा केन्द्रित हुनुपर्छ ।’ हाम्रो संस्कृति र प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरुको विकास गरे गाउँमै रोजगारी र आम्दानी आउने धारणा पनि उहाँले राख्नुभयो । यस्ता विषयलाई पनि शिक्षा क्षेत्रले सम्बोधन गर्नुपर्ने सुझाउदै उहाँले गुणस्तरिय उच्च शिक्षा दिलाउन पाँचथर बहुमुखी क्याम्पसले बहुधार्मिक र अध्यात्मिक महोत्सवको आयोजना गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो ।

सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरुपको शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त पठनपाठनमा जोड दिनु पर्ने पनि उहाँले बताउनुभयो । पाँचथरमा आएर धार्मिक सहिष्णुता र विविधताभित्र एकताको सन्देश दिन पाउँदा खुसी लागेको राष्ट्रपति पौडेलले सुनाउनुभयो ।

हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत रहेको र यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किरात सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यवद्धता देख्न सकिने उहाँले बताउनुभयो । वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानले हामी नेपाली प्रदिप्त रहेको धारणा समेत राष्ट्रपति पौडेले राख्नुभयो ।

राष्ट्रको १६औं राष्ट्रिय विभूती किरात धर्म प्रवद्र्धक महागुरु फाल्गुनन्दको तपोभूमि र समाधिस्थल पाँचथर रहेको स्मरण गर्नुहुदै उहाँले फाल्गुनन्दको योगदानले हाम्रो समाज र सभ्यतालाई ठूलो योगदान पुगेको सुनाउनुभयो । यहि प्रसंगमा उहाँले अनेक जात, संस्कृति, सम्प्रदायका नेपालीको मुख्य परिचय भन्नु नै एकता, सत्भाव र सहअस्तित्व रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘यो कुरालाई स्विकार गरेपछि मात्रै हामी एक मौलिक, सवल, समावेशी र अग्रगामी राज्यनिर्माण गर्न सक्छौ । नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त संंघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले यहि मूल आदर्श र मर्मलाई आत्मसाथ गरेको छ ।’ राष्ट्रपति पौडेलद्वारा बुधबार पाँचथर बहुमुखी क्याम्पसमा उद्घाटित महापुराण तथा धार्मिक महोत्सव फागुन ९ गतेसम्म चल्नेछ ।’ महापुराणमा वाचनप्रवीण दीनबन्धु पोखरेलका साथै किरात मुन्धुममा डाक्टर चन्द्रकुमार शेर्मा र बौद्ध दर्शनमा फुर्तेम्बा सेर्पाले प्रवचन दिनुहुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ९ : २८ बजे