पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२६ माघ, पाँचथर । अमर नेम्बाङ स्मृति साहित्य सम्मान तथा पुरस्कार लेखक तथा पत्रकार विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई प्रदान गरिएको छ । अमर नेम्बाङ स्मृति प्रतिष्ठानले शुक्रबार फिदिममा एक कार्यक्रमकाबीच स्रष्टाद्धयलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

सम्मान तथा पुरस्कार वापत दुवै स्रष्टाले जनही ५० हजार नगद सहित सम्मान पत्र प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले दुवै स्रष्टालाई नगद र सम्मान पत्र हस्तान्तरण गरे । सम्मान तथा पुरस्कारका लागि छनोट गरिएकोमा आयोजक संस्थालाई कवि तुम्खेवाले धन्यवाद व्यक्त गरिन् । स्व। अमर नेम्बाङले आफुलाई साहित्यमा लाग्न प्रेरित गरेको उनले सुनाईन् ।

पुरस्कृत दुवै स्रष्टा पत्रकारितामा समेत सकृय छन् । तुम्खेवा सञ्चारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष हुन् । तुम्खेवाका तीन कविता कृतिहरु विमला तुम्खेवाका कविताहरु– २०५५, नदि छाल र तरङ्गहरु २०६० र हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे– २०७५ प्रकाशित छन भने संस्मरण एउटा बुढो रुखको– २०६५ का साथै फुटकर कथा प्रकाशित छन् । पथरी मोरङमा जन्मे, हुर्केकी उनी हाल काठमाण्डौ बसोबास गर्छिन् ।

शिलापत्रमा आवद्ध बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखा समिति अध्यक्षको जिम्मेवारीमा छन् । बाँस्कोटाका ढुंगाको प्रेम नामक कविता कृति र कञ्चनजंघाको काखबाट नामक नियात्रा संंग्रह प्रकाशित छन् ।

गत वर्ष श्रवण मुकारुङ र प्रेम ओझा यो पुरस्कार प्रदान गरिएको थियो । २०७८ मा शारदा सुब्बा र बिना थिङले पुरस्कार पाएका थिए । प्रा.डा. गोविन्दराज भट्टराई र वीर नेम्बाङलाई २०७७ मा यो पुरस्कार प्रदान गरिएको थियो भने डा. देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई २०७६ मा यो पुरस्कार वितरण गरिएको थियो ।

स्व. नेम्बाङको पाँचौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा जेहेन्दार छात्रावृतिका साथै आगोलागी र पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको थियो । श्री ज्योती सेकेण्डरी स्कुल फाल्गुनन्द ७ का कक्षा १० मा अध्यनरत प्रेमा लावती छात्रवृत्ति वापत रु १० हजार नगद र सम्मान पत्र प्राप्त गरे । यसै गरी, आगलागीवाट पीडित भएका हिलिहाङ गाउँपालिका ७ का ७ वर्षीय सेसे पन्दाक, फिदिम नगरपालिका ५ का सनिप खाती, फाल्गुनन्द गाउँपालिका १ का ३२ वर्षीय मनकुमार नेम्बाङ र मिक्लाजुङ गाउँपालिका ७ का ५५ वर्षीया सरिता राईको परिवारलाई जनही रु १० हजार नगद सहित राहत वितरण गरिएको छ । वाढी पहिरोवाट पीडित भएका हिलिहाङ गाउँपालिका ७ का २८ वर्षीय आशिष माझी, २५ वर्षीया एलिसा माझी, फिदिम नगरपालिका १० का २८ वर्षीय सञ्जोक लोवा, फिदिम नगरपालिका ५ का ५५ वर्षीय राजकुमार राई र फालेलुङ गाउँपालिका ४ का ८ वर्षीया जुना सावदेनको परिवारले जनही रु १० हजार नगद सहित राहत प्राप्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष आङदेम्बेले सम्मान तथा पुरस्कार पाउने स्रष्टाहरुलाई बधाई सहित निरन्तर सिर्जनामा लाग्न अभिप्रेरित गरे । अहिले पनि आफु स्व। नेम्बाङले देखाएको बाटोमा लागिरहेको उनले बताए । सम्मान कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्यि मञ्चका जिल्ला सचिव नुनाम केरुङ, नेकपा माओवादी केन्द्रका मेदिनी प्रसाद खत्री, नेकपा एमालेका तुलसी क्षितिज, नेपाली काँग्रेसका सचिव दिपक नेपाल, निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ, र रङ्गवादी कवि धमेन्द्रविक्रम नेम्बाङले ले स्व। अमर नेम्बाङ पुर्याएको योगदानका चर्चा गर्दै मन्तव्य राखेका थिए । कार्यक्रममा मनिशा आचार्य, गजेन्द्र राई लगायतका कविले कविता वाचन गरेका थिए ।

याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई महासचिव मधुराज केरुङले सञ्चालन गरेका थिए । स्वागत मन्तव्य राख्दै साहित्यकार समदर्शी काईलाले अमर नेम्बाङको व्यक्तितत्वका बारेमा चर्चा गरेका थिए ।

अमर नेम्बाङ लिम्बूको जन्म वि.सं. १९९८ साल श्रावण २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा भएको थियो । पाश्चात्य साहित्यको गहिरो अध्ययन गरेका नेम्बाङले इको राइटिङलाई आफ्नो मूख्य लेखनको विषय छानेका थिए । उनका सम्झनाका तरेलीहरू र अमेरिका भ्रमणका केही सम्झनाहरू (संस्मरण) र एउटा साँझको अवसान कविता संग्रह प्रकाशित छन् । नेम्बाङले २०३३ सालमा जनपक्षीय उम्मेदवार भएर चिलिङदेन गाउँको नेतृत्व सम्हालेका थिए । त्यसपछि, तत्कालिन पौवासारताप गाविसमा अध्यक्षमा निरन्तर निर्वाचित भएका थिए । २०७४ सालको भएको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । नेम्बाङले पहिलो पटक स्थानीय तहबाट आधारभूत तथा माध्यमिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठनको व्यवस्था गरेर चर्चामा आएका थिए । २०७५ साल माघ २६ गते एक कार्यक्रमलाई सम्बोधन गरेर बस्ने क्रममा हृदयघातका बेहोस भएका नेम्बाङको उपचारका क्रममा झापामा निधन भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : ३१ बजे