पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

माघ २१, पाँचथर । पाँचथरमा चार जना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ । स्थानीय समथिङ फाउण्डेशन नेपालले समथिङ राष्ट्रिय सम्मान र समथिङ राष्ट्रिय पुरस्कारवाट दुई–दुई जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको हो ।

फाउण्डेशनले आईतबार विज्ञप्ती जारी गर्दै सम्मान तथा पुरस्कार प्रदान गरिने साहित्यकारहरुको नामावली सार्वजनिक गरेको हो । फाउण्डेशनका अध्यक्ष मंगल बेघाद्धारा जारी विज्ञप्तीमा समथिङ राष्ट्रिय पुरस्कार– २०७८ वाट बनेपा नगरपालिका ८, काभ्रे निवासी मोहन दुवाल र समथिङ राष्ट्रिय सम्मान– २०७८ वाट फिदिम नगरपालिका वडा नंं. १ निवासी शान्ता गौतमलाई सम्मान गरिने जनाइएको छ ।

साहित्यकार माेहन दुवाल र लेखिका शान्ता गाैतम

यसै गरी, समथिङ राष्ट्रिय पुरस्कार– २०८० वाट दमक नगरपालिका १, झापा स्थायी ठेगाना भई हाल किर्तिपुर काठमाण्डौ निवासी प्रा.डा. गोविन्दराज भट्टराई र समथिङ राष्ट्रिय सम्मान– २०८० वाट फिदिम नगरपालिका ०१, पाँचथर निवासी मिना राईलाई प्रदान गरिने विज्ञप्तीमा जनाइएको छ ।

पुरस्कारका लागि छनोट भएका दुवाल जनमत साहित्यक मासिकका प्रधान सम्पादक हुन् । साहित्य सम्पादन र लेखनमा साधना गर्ने दुवालले कविता, बाल कविता, नियात्रा, मुक्तक लगायतका विधामा दुई दर्जन भन्दा वढि कृतिहरू प्रकाशित छन् । शिक्षण पेशावाट सेवा निवृत शान्ता गौतम कविताका साथै गीत लेखनमा कलम चलाउने स्रष्टा हुन् । बाल कविताका समेत सिर्जना गर्ने गौतमले कक्षा २ को कक्षागत गीत लेखेका थिए ।

प्रा.डा. गाेविन्दराज भट्टराई र लेखिका मिना राई

साहित्यमा उपन्यासका साथै समालोचनामा कलम चलाउने डा. भट्टराईका दर्जनौ कृति प्रकाशित छन् । नेपाली साहित्यमा उत्तरआधुनिकताको चर्चा चलाएका डा. भट्टराई त्रिभूवन विश्वविद्यालयवाट सेवा निवृत प्राध्यापक समेत हुन् । मिना राई भने समाज सेवाका साथै साहित्यमा लामो समय देखि निरन्तर कलम चाउने स्रष्टा हुन् । उनका कविता र संस्मरणहरु प्रकाशित छन् ।

दुई वर्षको अन्तरमा सम्मान तथा पुरस्कार वितरण गर्ने भनिए पनि वि.स. २०७८ सालमा कोभिड– १९ को महामारीका कारण स्थगित गरिएको थियो । स्थगित गरिएको सहित यस पटक संयुक्त रुपमा सम्मान तथा पुरस्कार वितरण गरिने अध्यक्ष बेघाले जनाए । यसका लागि माघ २९ गते ‘स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ आयोजना गरी स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने जनाइएको छ ।

पुरस्कृत हुने स्रष्टाले जनही ५५ हजार ५ सय ५५ र सम्मानित हुने स्रष्टाले जनही ५ हजार ५ सय ५५ नगद सहित सम्मान पत्र प्राप्त गर्ने आयोजक संस्थाका कोषाध्यक्ष भवानी तावाले जानकारी दिए । यस अघि २०७६ सालमा उत्तरवर्ती सोचका अभियन्ता तुम्बेवा गाउँपालिका १, आङना निवासी कवि राज माङलाकलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । यसै गरी, हिलिहाङ गाउँपालिका ५ निवासी विद्या निर्दोशीले यो सम्मान पाएका थिए ।

को हुन राप्रकाश समथिङ ?

नाम रामबहादुर गुरुङ भए पनि रामप्रकाश समथिङ भनेर चिनिएका समथिङ पत्रकारिता, साहित्य, समाजसेवा, मानव अधिकार लगायतका क्षेत्रमा क्रियाशील थिए । उनको जन्म जिल्ला पाँचथर फिदिम नगरपालिका १२ मा स्व. जसमाया र बावु स्व. असलबहादुर गुरुङको कोखबाट २०२६ साल माघ २९ गते भएको थियो । पछिल्लो समय जिल्ला सदरमुकाम फिदिम नगरपालिका १, फिदिम वजारमा बसोबास गर्दै आएका समथिङको उपचारका क्रममा झापाको विएण्डसी अस्पतालमा २०७९ भदौ ३० गते निधन भएको थियो ।

समथिङले साहित्यिक एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका थिए । एकै पटक २२ ओटा उपन्यास लेखन तथा प्रकाशन गरेर चर्चा कमाएका उनले जीवन कालमा ५५ ओटा कृति लेखन तथा प्रकाशन गरेका थिए भने पाण्डुलिपिका रुपमा रहेका दुई ओटा कृतिहरु उहाँको निधन पश्चात प्रकाशित छन् ।

उनलाई २०७७ चैत १९ गते यमुनादेवी–बैजनाथ भट्टराई स्मृति प्रतिष्ठान, मैवाखोला साँघु ताप्लेजुङबाट यमुनादेवी–बैजनाथ भट्टराई स्मृति सम्मान पुरस्कारबाट पुरस्कृत गरिएको थियो । नेपाली साहित्यमा पु¥याएको योगदानको कदर गर्दै २०७९ साल बैशाख ०१ गते बिहिबारका दिन सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री पदकबाट सम्मानित भएका थिए । यसका साथै दर्जनौ संघ संस्थावाट सम्मानित उनका श्रीमती र दुई छोरा रहेका छन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १० : ३२ बजे