पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौँ । नेपाल पुलिस क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पुलिसले शनिबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्‍यो । पुलिसले यो प्रतियोगिता जितेको तेस्रो अवसर हो । 

टस हारेपछि ब्याटिङ निम्तो पाएको आर्मीलाई ४९.५ ओभरमा १ सय ८१ रनमै अलआउट गरेपछि पुलिसले शंकर रानाको अविजित अर्धशतकमा ३८ ओभरभित्रै लक्ष्य पूरा गरेको थियो । शंकरले ४३ बलमा ६२ रन बनाए । उनले कुशल मल्लको बलमा स्ट्रेट छक्का प्रहार गर्दै विजयी रन बटुलेका थिए । शंकरले कुल ५ चौका र ४ छक्का प्रहार गरे । शंकर र आरिफ शेखले पाँचौं विकेटमा ८५ रनको अविजित साझेदारी गरे । आरिफले ५४ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरे ।

पहिलो ओभरमा सोमपाल कामीलाई लगातार तीन चौका प्रहार गरेका कुशल भुर्तेल दोस्रो ओभरमा १४ रन बनाई जितेन्द्र मुखियाको बलमा आउट भए । चोटका कारण जितेन्द्रले त्यही १ ओभरमात्र बलिङ गरे । कप्तान विनोद भण्डारी पनि ब्याटिङका क्रममा घाइते भएकाले फिल्डिङमा आउन सकेनन् । पुलिसबाट अर्का ओपनर दिलीप नाथ ७ रनमा आउट भए ।

अर्जुन साउद र अमित श्रेष्ठले तेस्रो विकेटमा ४९ रनको साझेदारी गरे । अर्जुनले ५८ बल खेल्दै ४ चौकासहित ३६ र अमितले ५१ बलमा २ चौका प्रहार गरे । आर्मीबाट जितेन्द्र, कुशल, शाहब आलम र बसिर अहमदले १ विकेट लिए ।

यसअघि विवेक यादवले आर्मीबाट सर्वाधक ६३ रन बनाए । नवौं नम्बरमा ब्याटिङ गरेका उनले ८१ बलमा ७ चौका र १ छक्का प्रहार गरे । अन्तिम ब्याटरको रूपमा रनआउट भएका विवेकले जितेन्द्रसँग १० औं विकेटमा ४३ रनको साझेदारी गरे । जितेन्द्र ११ बल खेल्दै २ रनमा अविजित रहे ।

माथिल्लो क्रमका ब्याटर सन्तोष कार्की ६, भीम सार्की ५, सन्दीप रजाली शून्य, विनोद २ रनमा आउट भएपछि आर्मी सुरुदेखि दबाबमा परेको थियो । ओपनर इमरान शेखले ६८ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरी २८ रन बनाए । कुशल १७ र बसिर १ रनमा आउट भएपछि आर्मी ६९–७ को स्थितिमा पुगेको थियो । विवेक र सोमपालले आठौं विकेटमा ५९ रनको साझेदारी गरे । सोमपालले ५८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए ।

पुलिसबाट ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए । प्लेयर अफ द फाइनल ललितले १० ओभरमा २ मेडन राख्दै २१ र दीपेन्द्रले ९ ओभरमा ३१ रन खर्चे । सागर ढकाल, करण केसी र भुर्तेलले १–१ विकेट लिए ।

पहिलो पटक राउन्ड रोबिन लिगका आधारमा खेलाइइएको प्रतियोगिता जितेसँगै पुलिसले १० लाख र आर्मीले ५ लाख रुपैयाँ पुरस्कार पाए । ३० विकेट लिएका वाग्मती प्रदेशका सूर्य तामाङ प्लेयर अफ द सिरिज र उत्कृष्ट बलरमा चुनिए । ९ खेलमा ४२ माथिको औसतमा ३ सय ८६ रन बनाएका मधेश प्रदेशका अनिल शाह उत्कृष्ट ब्याटर भए भने वाग्मतीका आसुतोष घिरोइयाले राइजिङ प्लेयरको उपाधि पाए । उनले ९ खेलमा ३ सय ८२ रन बनाएका थिए ।

इकान्तिपुरवाट साभार

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  २ : २४ बजे