पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१६ माघ पाँचथर । अमर नेम्बाङ स्मृति साहित्य सम्मान तथा पुरस्कार लेखक तथा पत्रकारद्धय विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई प्रदान गरिने भएको छ । अमर नेम्बाङ स्मृति प्रतिष्ठानले सोमबार एक विज्ञप्ती जारी गर्दै स्रष्टाद्धयलाई सम्मान तथा पुरस्कारका लागि छनोट गरिएको जानकारी दिएको हो ।

प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले जारी गरेको विज्ञप्तीमा यस वर्ष कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई संयुक्त रुपमा सम्मान तथा पुरस्कार वितरण गर्ने भनी उल्लेख गरिएको छ । नेम्बाङको पाँचौं स्मृति दिवस पारेर माघ २६ गते फिदिममा कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने जनाइएको छ ।

कवि, आख्यानकार एवं पत्रकार विमला तुम्बेवा

सम्मान तथा पुरस्कारका लागि छनोट हुने दुवै स्रष्टा पत्रकार समेत हुन । कवि तुम्खेवा सञ्चारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष हुन् । तुम्खेवाका तीन कविता कृतिहरु विमला तुम्खेवाका कविताहरु– २०५५, नदि छाल र तरङ्गहरु २०६० र हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे– २०७५ प्रकाशित छन भने संस्मरण एउटा बुढो रुखको– २०६५ का साथै फुटकर कथा प्रकाशित छन् । मोरङको प्रथ्रीमा जन्मे, हुर्केकी तुम्खेवा हाल काठमाण्डौ बसोबास गर्छिन् ।

कवि, नियात्राकार एवं पत्रकार गिरिराज बाँस्काेटा

बाँस्कोटा भने नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष हुन् । पछिल्लो समय शिलापत्रमा आवद्ध बाँस्कोटाका ढुंगाको प्रेम नामक कविता कृति र कञ्चनजंघाको काखबाट नामक नियात्रा संंग्रह प्रकाशित छन् ।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा जेहेन्दार छात्रावृतिका साथै आगोलागी र पहिरो पीडितलाई राहत वितरण गरिने अध्यक्ष नेम्बाङले बताए । छात्रावृति तर्फ श्री ज्योती सेकेण्डरी स्कुल फाल्गुनन्द ७ का कक्षा १० मा अध्यनरत बिद्यार्थी प्रेमा लावतीलाई छनाेट गरिएकाे अध्यक्ष नेम्बाङले जानकारी दिए ।

यस पुरस्कारबाट गत वर्ष साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत भएका थिए भने २०७८ मा शारदा सुब्बा र बिना थिङलाई पुरस्कृत गरिएको थियो । २०७७ मा डा. गोविन्दराज भट्टराई र वीर नेम्बाङलाई पुरस्कृत गरिएको थियो भने २०७६ मा डा. देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो ।

अमर नेम्बाङ लिम्बू को हुन ?

अमर नेम्बाङ लिम्बू राजनीतिज्ञ, साहित्यकार एवम् समाजसेवी हुन् । नेम्बाङको जन्म वि.सं. १९९८ साल श्रावण २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा बाबु नयेन्द्रराज (नरवीर) नेम्बाङ र आमा श्रीहाङ्मा थाम्सुहाङ नेम्बाङको कोखबाट माइला छोराको रूपमा भएको थियो । स्थानीय सारताप स्कुलबाट अध्ययन सुरु गरेका नेम्बाङले सन्त रोबर्टस उच्च मावि दार्जिलिङबाट १९६१ मा हाइस्कुल पास गरेका थिए । सन्त जोसेफ कलेज नर्थप्वाइन्ट दार्जिलिङबाट १९६६ मा बिए सकेका उनले त्रिभुवन विश्वविद्यालयबाट १९६९ सालमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

पाश्चात्य साहित्यको गहिरो अध्ययन गरेका नेम्बाङले इको राइटिङ (पर्यावरणीय लेखन) लाई आफ्नो मूख्य लेखनको विषय छानेका थिए । उनका सम्झनाका तरेलीहरू र अमेरिका भ्रमणका केही सम्झनाहरू (संस्मरण) का साथै एउटा साँझको अवसान नामक कविता कृति प्रकाशित छन् । उनका विभिन्न विधाका कैयौं लेखहरु अप्रकाशित अवस्थामा रहेका कवि धर्मेन्द्र विक्रम नेम्बाङले बताए ।

स्व. अमर नेम्बाङ लिम्बू

राजनीतिमा सफल नेताका रुपमा स्थापित नेम्बाङले २०३३ सालमा जनपक्षीय उम्मेदवार भएर चिलिङदेन गाउँको नेतृत्व सम्हालेका थिए । तत्कालिन पौवासारताप गाविसमा नेपाली कांग्रेसको तर्फबाट गाविस अध्यक्ष निरन्तर निर्वाचित भएका थिए । मुलुकको पुनः संरचनासँगै २०७४ सालको भएको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । नेम्बाङले पहिलो पटक स्थानीय तहबाट आधारभूत तथा माध्यमिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठनको व्यवस्था गरेर चर्चामा आएका थिए । फाल्गुनन्द गाउँपालिका वडा नं ५ ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरेर बस्ने क्रममा २०७५ साल माघ २६ गते हृदयघातका कारण नेम्बाङको निधन भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ११ : ३७ बजे