पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । प्रथम एनआरएनए इलाम गोल्डकप- २०८० मा पाँचथर फुटबल क्बललाई स्तब्ध पार्दै विर्तामोड युनाईटेड झापा फाईनल प्रवेश गरेको छ । इलामको टुडिखेलमा बिहिबार सम्पन्न दोस्रो सेमिफाइनलमा पाँचथरलाई टाईब्रेकरमा ४-२ गोल अन्तिरले हराउँदै विर्तामोड फाईनल प्रवेश गरेको हो ।

खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि सिधै टाईब्रेकरमा लिइएको थियो । टाईब्रेकरमा झापाका चार खेलाडीकाे प्रहारले जाली चुमेका थिए भने एक प्रहारमा पाँचथरका गाेलकिपर बाधन बनेका थिए । यसै गरी, पाँचथरका दुई खेलाडीकाे प्रहारले मात्र पाेष्टकाे दिशा लिएकाे थियाे भने एक प्रहार झापाका गाेलकिपरले राेक्दा अर्काे प्रहार बारमा लागेकाे थियाे ।

टाईब्रेकरमा बिर्तामोडका दिवस उराव, प्रदिप बुढाथोकी, रोहन कार्की र एन्जल गुरुङको प्रहार गोलमा परिणत भएको थियो भने विशाल दर्जीको प्रहार पाँचथरका गोलरक्षक प्रमिजय गच्छादारले रोकेका थिए । यसैगरी, पाँचथरका साइमन लिम्बू र सुदिप श्रेष्ठको प्रहार मात्र गोलमा परिणत भएका थियो । अनुभवी खेलाडी अशोक खवासको प्रहार विर्तामोडका गोलकिपर सन्दिप लिम्बूले बचाएका थिए भने विजय भूजेलको प्रहार बारमा लागेर फर्किएको थियो ।खेलको म्यान अफ द म्याच विजेता विर्तामोडका सञ्जित राई घोषित भए । उनले नगद पाँच हजार पुरस्कार र ट्रफी प्राप्त गरे । आगामी शनिबार हुने फाईनलमा विर्तामोड युनाईटेडले काठमाण्डौंको ए डिभिजन क्बल एनआरटीको सामना गर्नेछ । एनआरटीले बुधबार आयोजक रेडहर्स एफसीलाई हराउँदै फाइनल प्रवेश गरेकाे थियाे ।

भारतको दार्जेलिङ सहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने आयोजक रेडहर्स एफसी इलामले जनाएको छ । यसै गरी, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ७ : ४३ बजे