पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । प्रथम एनआरएनए इलाम गोल्डकप- २०८० मा वाईवाई पाँचथर फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ । इलामको टुडिखेलमा मंगलबार भएको अन्तिम क्वाटर फाइनलमा बुटवल लुम्बिनी फुटबल क्लबलाई टाईब्रेरकमा ४-३ गोल अन्तिरले हराउँदै पाँचथर एफसी अन्तिम चारमा प्रवेश गरेको हो ।

नेपाल सुपर लिग खेलेको बुटबल लुम्बिनी एफसी विरुद्ध दुई पटकको अग्रता जोगाउन नसक्दा पाँचथर एफसीले नजिता आफ्नो पक्षमा पार्न टाईब्रेकर कुर्नु परेको थियो । खेलको चौथो मिनेटमा नै रोशन आङदेम्बेले गोल गर्दै पाँचथरलाई अग्रता दिलाएका थिए । अशोक खवासले फ्रिकिकवाट मिलाएको सुन्दर पासलाई आङदेम्बेले हेड मार्फत जाली चुमाएका थिए । खेलको ३६ औं मिनेटमा बुटबलका बिदेशी खेलाडीले स्टेफेन नायनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । उनले फ्रिकिकको बल पोष्टमा लागेर रिबाउण्डमा पाएको अवसरलाई सिधै गोलमा परिणत गरेका थिए । ३९ औं मिनेटमा पाँचथर पुनः गोल गर्दै खेलमा २-१ अग्रता लिएको थियो । बुटवलका गोलकिपर मोहमोदोले कर्नरवाट आएको बल हातवाट फुत्काएपछि पाएको अवसरलाई सिमान्त थापाले सहजै गोल गरेका थिए ।

दोस्रो हाफ सुरु भए पछि आक्रमक देखिएको बुटबलले ५१ औं मिनेटमा गोल गर्दै खेल २-२ को स्थितिमा पुर्याएका थिए । बुटवलका माटिन्सले प्रहार गरेको फ्रिकिक विपक्षी खेलाडीको बार र गोलकिपर प्रमिजय गच्छादारलाई पार गर्दै गोल भएको थियो । त्यसपछिको निर्धारित समयमा दुबै टिमले गोल गर्न सकेनन् र, अतिरिक्त समय नखेलाई टाईब्रेकर लिने अम्पायर र कप्तानद्धयले निर्णय गरेका थिए ।

टाइब्रेकरमा पाँचथरका सुनिल खड्का, अशोक खवास, मन्जिल खड्का र रोमन भुजेले गोल गरेका थिए । चाैथाे वल लिएका सिमान्त थापाको प्रहार बुटबलका किपर मोहमदोले बचाएका थिए । बुटबलका तर्फवाट सुरुवाती तीन वल लिएका मार्टिन्स, बिकास लामा, चन्दन दासले गोल गरे । जनक कोइरालाको चौथो प्रहार पाँचथरका गोलकिपर गच्छादारले बचाउ गरे भने पाँचौ प्रहार गरेका अनिल मर्हजन बल पोष्ट भन्दा माथिवाट बाहिरिएको थियो ।

खेलको म्यान अफ दि म्याच पाँचथरका रोशन आङदेम्बे भए । उनले नगद ५ हजार पुरस्कार प्राप्त गरे । अन्तिम चारमा प्रवेश गरेसँगै बिहिबार हुने दाेस्राे सेमिफाइनलमा पाँचथरले बिर्तामोड युनाइटेड क्बल झापासँगको भेट पक्का गरेको छ । बुधबार हुने सेमिफाइनलमा आयाेजक रेडहर्ष फुटबल क्लब इलामले एन.आर.टी. काठमाण्डौकाे सामना गर्नेछ ।

भारतकाे दार्जेलिङ सहित ८ टिमकाे सहभागिता रहेकाे प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ३२ बजे