पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । प्रथम एनआरएनए इलाम गोल्डकप- २०८० मा काठमाण्डौको न्युरोड टीम (एनआरटी)ले सर्लाहीको बाग्मती युवा क्लबलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । इलामको टुडिखेलमा सोमबार सम्पन्न तेस्रो क्वाटर फाइनलमा ए डिभिजन क्बल एनआरटीले टाईब्रेरकमा बागमतीलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो ।

टाइब्रेकमारमा एनआरटीले बाग्मती विरुद्ध ४-३ गोलको जित निकालेको थियो । निर्धारित र अतिरिक्त सयममा समेत कुनै पनि टिमवाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा एनआरटीका सरोज तामाङ, सनम लिम्बू, सुमित श्रेष्ठ र जय गुरुङकाे प्रहारले जाली चुम्याे । बाग्मतीका बिमल घिसिङ, अभिषेक महतो र आयुस राना मगरले गोल गरे । क्याप्टेन देवा गुरुङको पहिलाे प्रहारलाई एनआरटीका गोलकिपर युभेस प्रिसोले विफल बनाए भने निर्मल घिसिङले पाेष्ट बाहिर प्रहार गरेपछि एनआरटीले अन्तिम प्रहार लिन अघि नै जित हाँसिल गरेकाे थियाे ।

आजको खेलमा म्यान अफ द म्याच बाग्मतीका आयुस राना मगर घोषित भए । उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

अन्तिम चारमा पुग्न संघर्षपूर्ण जीत निकालेको एनआरटीले बुधबार हुने पहिलो सेमीफाइनलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामको सामना गर्नेछ । अन्तिम क्वाटर फाईनलमा पाँचथर फुटबल क्लब र लुम्बिनी फुटबल क्लब बुटवलबीच मंगलबार प्रतिस्पर्धा हुनेछ ।

रेडहर्स एफसी इलामद्वारा आयोजित प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण(पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा भारतको एक टिमसहित ८ टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : २६ बजे