पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । प्रथम एनआरएनए इलाम गोल्डकप- २०८० मा आयोजक रेडहर्स फुटबल क्लबले विजयी सुरुवात गरेको छ । इलामको टुडिखेलमा शनिबार भएको उद्घाटन खेलमा भारत दार्जिलिङको मानेभन्ज्याङ फुटबल क्लबलाई ४–० ले हराउँदै रेडहर्सले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

पहिलो खेलमा जित हाँसिल गर्ने क्रममा राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठले ह्याट्रिक गरे । उनले ५१ औं, ६४ औं र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । पहिलो हाफको ११ औं मिनेटमा आयोजक टोलीले अग्रता लिएको थियो । आयोजकका लागि पहिलो गोल उत्सव राईले गरेका थिए ।

नवयुग खेलको म्यान अफ दी म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । मानेभन्ज्याङ विरुद्ध जित हाँसिल गरेको रेडहर्स सेमिफाईनल प्रवेश गरेको छ । आईतरबार हुने दोस्रो क्वाटर फाईनलमा राष्ट्रिय जागृती क्लब र बिर्तामोड युनाइटेड आमने सामने हुनेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडी छनोट गरी पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी), एनएसएल क्लब बुटवल लुम्बिनी एफसी, बिर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही र पाँचथर फुटबल क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन सत्रमा भ्वाईस अफ नेपालका विजेता विनोद राईले सांगीतिक प्रस्तुती दिएका थिए । यसैरी, विभिन्न साँस्कृतिक झाँकी र मार्च पास समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : २४ बजे