पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । तमोर नदीको किनारमा पहिलो पटक आयोजना गरिएको बीच भलिबल प्रतियोगितको उपाधी ताप्लेजुङका राजेश कडेल र सन्दिप गौतमको पोल्टामा परेको छ ।

माघे मेलको अवसरमा आयोजित प्रतियोगिताकाे मंगलबार सम्पन्न फाइनलमा पाँचथरका उपेन्द्र उप्रेती र कृष्ण चापागाँईको जोडिलाई हराउदै ताप्लेजुङका खेलाडीले उपाधी हात पारेका हुन् । उपाधी आफ्नो पोल्टामा पार्न ताप्लेजुङको टोलीले पहिलो र तेस्रो सेट क्रमशः २१–१६ र १५–८ ले जितेको थियो । पाँचथरले दोस्रो सेट २१–१७ ले जित्दै उपाधी हात पार्ने प्रयास गरेको थियो ।

उपाधी हात पारेको ताप्लेजुङका कँडेल र गौतमले रु नगद १० हजार, ट्रफि र प्रमाण पत्र हात पार्यो भने उपविजेतामा सीमित पाँचतरका उप्रेती र चापागाँईले ५ हजार ट्रफि र प्रमाण पत्रमा चित्त बुझाए । प्रतियोगितामा १२ टोली सहभागिता रहेको थियो ।

फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ माझिटार स्थित तमोर किनारमा पहिलो पटक बिच भलिबल आयोजना गरिएको हो । तमोरमा पर्यटन प्रबद्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना तमोर पर्यटन समितिले जनाएको छ । तमोरमा जल पर्यटन र खेल पर्यटनका साथमा खेलाडी उत्पादन र खेलकुदको विकासमा मद्दत पुर्‍याउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष दिपेन्द्र तुम्बापोले जानकारी दिए । पहिलो पटकको आयोजनामा सरोकारवालाहरुको सकारात्मक प्रतिक्रिया पाएको जनाउँदै आगामी वर्षहरुमा प्रतियोगिताको निरन्तरता दिइने तमोर रिसोर्टका सञ्चालक तथा प्रतियोगिताका आयोजक बरुण तुम्बापोले जानकारी दिए ।

के हाे बीच भलिबल ?

बीच भलिबल खासगरी समुद्र छेउको बालुवामा खेलिने एक प्रकारको खेल हो । यसमा टोलीमा दुई देखि चार खेलाडी खेल्ने चलन छ । नेपालमा समुद्र नभएकोले नदि तथा तालहरुको छेउमा बालुवाको कोर्ट बनाएर यो खेल खेलाउने गरिएको जानकारहरु बताउछन् । समुद्र तटमा बालुवाको मैदान बनाई यो खेल खेलिन्छ । एक टीममा २–२ जना वा ४–४ जनाले मात्र खेलिने खेललाई बीच भलिबल भनिन्छ । बीच भलिबल खेल्ने पुरुष खेलाडीले हाफ पाइन्ट र महिलाले स्पोट्स ब्रा र पेन्टी मात्र प्रयोग गर्छन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ७ : ५२ बजे