पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक ब्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । खुकुरी प्रहारबाट थप दुई जना घाइते भएका छन् ।
घरायशी विवादमा विहिवार अन्दाजी ८ बजेको समयमा श्रीमानले खुकुरी प्रहार गर्दा मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेको टेकुवाकी ३५ वर्षीया गोमा फियाकको मृत्यु भएको हो । खुकुरी प्रहारबाट गोमाकी आमा कान्छीमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठ घाइते भएका छन् । जिल्लाकै तुम्बेवा गाउँपालिका–४ का अन्दाजी ३५ वर्षीय असफल कुरुम्बाङले ससुराली घर पुगी घरायशी विवादमा श्रीमती, सासूआमा र छिमेकीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।
मृतक फियाक माइती घरमा बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ । कुरुम्बाङले घरायशी छलफलका क्रममा एक्कासी खुकुरी प्रहार गरी फरार भएका हुन् । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी आरुबोटे र इलाका प्रहरी कार्यालय रबिको टोली घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ ।
घटनावारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वको टोलीसमेत घटनास्थलतर्फ लागेको छ । घटनाका आरोपित कुरुम्बाङ तत्काल फरार रहेको र खोजीका लागि आसपासको क्षेत्रका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिई इलाम प्रहरीसँग समेत समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रनाउ हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ३१ बजे