पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । हिलिहाङ गाउँपालिका याङवरक गाउँपालिकाको प्रथम उपाध्यक्ष कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताकाे फाईनल प्रवेश गरेका छन् ।

याङवरक गाउँपालिका ६ स्थित नागीमा मंगलबार सम्पन्न पहिलो सेमिफाईनलमा फाल्गुनन्द गाउँपालिकालाई पराजित गर्दै हिलिहाङ फाईनल प्रवेश गरेको हो । पहिलो सेटमा २५–१२ को सहज जित हात पारेको हिलिहाङले दोस्रो सेट भने २०–२५ ले फाल्गुनन्दलाई नतिजा सुम्पिएको थियो । तेस्रो सेट २५–१४ ले जित निकालेको हिलिहाङले चौथो सेट २६–२४ को कठिन जितका साथ फाईनलमा स्थान पक्का गरेको हो । फाइनलमा हिलिहाङले याङवरक र फालेलुङबीच हुने दोस्रो सेमिफाईनलकाे विजेताकाे सामना गर्नेछ ।

फाल्गुनन्दले तुम्बेवा गाउँपालिकालाई पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको थियो । फाल्गुनन्दले २५–९, २५–१०, १८–२५ र २५–२३ को सेटमा तुम्बेवालाई पराजित गरेको थियो । अर्को क्वाटर फाईनलमा फालेलुङ गाउँपालिकाले कुम्मायक गाउँपालिका विरुद्ध सहज जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको छ । फालेलुङले २५–१८, २५–२० र २५–१८ को सोझो सेटमा तुम्बेवालाई पराजित गरेको थियो ।

प्रतियोगितामा याङवरक र फालेलुङबीच मंगलबार नै सम्पन्न दोस्रो सेमिफाईनल खेल भने समय अभावले स्थगित भएको छ । दुवै टिमले २–२ सेट जित हात पारेपछि समय नपुगेको भन्दै अम्पायरले खेल स्थगित गरेका हुन् । खेलमा फाल्गुनन्दले २५–९ र २५–१० ले पहिलो र दोस्रो सेटमा जित हाँसिल गरेको थियो भने तेस्रो र चौथो सेट २४–२६ र २१–२५ ले याङवरकलाई नजिता सुम्पिएको थियो । स्थगित भएको खेल बुधबार पुनः सुरुकै स्थितिवाट खेलाईने आयोजकले जनाएको छ ।

याङवरक गाउँपालिका द्धारा आयोजित प्रतियोगितामा पाँचथर जिल्लाका आठ ओटै स्थानीय तहको सहभागिता रहेको छ । प्रतियोगिताको फाईनल खेल आगामी बुधबार हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने याङवरक गाउँपालिकाकी उपाध्यक्ष बाबा मेन्याङबोले बताईन् ।

फाईनल खेल अघि कर्मचारी र जनप्रतिनिधिबीच समेत मैत्रीपूर्ण भलिबल खेल हुने आयोजकले जानकारी दिएको छ । सोही अवसरमा पालिका स्तरीय ब्याडमिन्टन र वडा स्तरीय डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरिएको उपाध्यक्ष मेन्याङबोले बताईन् । ब्याडमिन्टन प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय पुरस्कार पाउनेछन् । यसै गरी, डोरी तान्ने तर्फका विजेता र उपविजेताले क्रमशः १० हजार र ७ हजार ५ सय पुरस्कार पाउने उपाध्यक्ष मेन्याङबोले जानकारी दिईन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ८ : ३३ बजे