पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । याङवरक गाउँपालिकाको प्रथम उपाध्यक्ष कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा हिलिहाङ र याङवरक गाउँपालिका सेमिफाईनलमा प्रवेश गरेका छन् ।

याङवरक गाउँपालिका ६ स्थित नागीमा सोमबार सम्पन्न पहिलो खेलमा मिक्लाजुङ विरुद्ध कठिन जित हात पार्दै हिलिहाङ सेमिफाईनल प्रवेश गरेको हो । हिलिहाङले जित हाँसिल गर्न पाँचौं सेट कुर्नु परेको थियो । पहिलो र दोस्रो सेट २५–९ र २५–२० ले जित हाँसिल गरेको हिलिहाङले तेस्रो र चौथो सेट २१–२५ र ३२–३४ ले गुमाएको थियो । पाँचौं तथा निर्णायक सेटमा १७–१५ ले खेल आफ्नो पक्षमा पारेको हिलिहाङले सेमिफाईनलमा फाल्गुनन्द र तुम्बेवा गाउँपालिका बीच हुने खेलको विजेता सँग प्रतिस्पर्धा गर्नु गर्नेछ ।

समय अभाव जनाउँदै वेस्ट अफ थ्री मात्र खेलाइएको दोस्रो खेलमा याङवरकले फिदिमलाई २५–१३ र २५–१२ को सोझो सेटमा पराजित ग¥र्यो । सेमिफाईनलमा याङवरकले मंगलबार हुने कुम्मायक र फालेलुङ गाउँपालिकाबीच हुने खेलको विजेता सँग प्रतिप्रस्र्धा गर्नु पर्नेछ ।

याङवरक गाउँपालिका द्धारा आयोजित प्रतियोगितामा पाँचथर जिल्लाका आठ ओटै स्थानीय तहको सहभागिता रहेको छ । प्रतियोगिताको फाईनल खेल आगामी बुधबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने याङवरक गाउँपालिकाकी उपाध्यक्ष बाबा मेन्याङबोले बताईन् । फाईनल खेल अघि कर्मचारी र जनप्रतिनिधिबीच समेत मैत्रीपूर्ण खेल हुने आयोजकले जानकारी दिएको छ ।

सोही अवसरमा पालिका स्तरीय ब्याडमिन्टन र वडा स्तरीय डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरिएको उपाध्यक्ष मेन्याङबोले बताईन् । ब्याडमिन्टन प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय पुरस्कार पाउनेछन् भने डोरी तान्ने तर्फका विजेता र उपविजेताले क्रमशः १० हजार र ७ हजार ५ सय पुरस्कार पाउने उपाध्यक्ष मेन्याङबोले जानकारी दिईन् ।

प्रतियोगिताको उद्घाटन सत्रलाई संबोधन गर्नै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बेले संभाव्यता र उपलब्ध स्रोत साधनलाई हेरेर एकेडेमी सञ्चालन गर्नु पर्ने बताए । स्तरीय खेलाडी उत्पादनका लागि लगानी र नियमित प्रशिक्षण आवश्यकता हुने जनाउँदै एकेडेमी सञ्चालन तर्फ खेल जन्य संघ–संस्था र राज्यका निकायको ध्यान जानु पर्नेमा उनको जोड थियो । साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको उद्घाटन सत्रमा ताप्लेजुङको फुङलिङ नगरपालिका उपप्रमुख सहित पाँचथर स्थित स्थानीय तहका उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : ३८ बजे