पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबको कब्जामा परेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको फाइनलमा एपीएफले कोशी प्रदेश माथि ११ रनको जित निकाल्दै उपाधी कब्जा गरेको हो ।

विजयका लागि १ सय १६ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३ रन मात्र बनायो । कोशीका लागि कप्तान रुविना क्षत्रीले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाइन् । अन्तिम ओभरमा कोशीलाई विजयका लागि १७ रन चाहिने अवस्थामा करुणा भण्डारीले रुविनालाई ज्योति पाण्डेबाट स्टम्प आउट गराएपछि एपिएफ जित तर्फ लम्किएको थियो ।

कोशीको सुरुवात सुस्त रह्यो । कोशीका अप्सरी बेगमले २२ बलमा ८ रन बनाउँदै आउट भईन् । उनलाई सोनु खड्काले सिधा थ्रोमा रनआउट गरिन् । दोस्रो विकेटका लागि काजल श्रेष्ठ र रुविनाले ६० रनको साझेदारी गरे । काजलले २९ बलमा १ चौका सहित २२ रन बनाइन् । लकिता राजवंशी ६ रनमा रनआउट भइन् । एपीएफबाट कप्तान सीता राना मगर र करुणाले १–१ विकेट लिए ।

नेपाली राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माको अर्धशतकमा यसअघि टस जितेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १४ रन बनाएको थियो । इन्दुले ५३ रन बनाइन् । उनले ४७ बल खेली ६ चौका र १ छक्का प्रहार गरिन् ।

एपीएफको सुरुआत राम्रो रहेन । एलिशा खडियाले कप्तान सीता राना मगरलाई १ रनमै बोल्ड गरिन् । ज्योति पाण्डे र इन्दुले दोस्रो विकेटमा २८ रनको साझेदारी गरे । ज्योतिले ३० बल खेली ३ चौका सहित २७ रन बनाइन । उनी निशा शाहको पहिलो बलमै आउट भईन् ।

रोमा थापाले १५ बलमा १४ रन बनाइन् । ममता चौधरी ३ रनमा आउट भइन् । सरिता मगर ९ र करुणा भण्डारी २ रनमा अविजित रहे । कोशीबाट अप्सरीले ४ ओभरमा २१ रन खर्चेर ३ र एलिशाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।

अप्सरी बेगमले इनिङ्सको अन्तिम ओभरको पहिलो तीन बलमा इन्दु, नेरी थापा मगर र सोनु खड्कालाई लगातार आउट गरेर हृयाट्रिक पूरा गरेकी थिईन् । इन्दुलाई नमिता श्रेष्ठको हातबाट क्याच गराएकी अप्सरीले नेरीलाई काजल श्रेष्ठबाट स्टम्प आउट गराएका थिइन् भने सोनुलाई अप्सरीले बोल्ड गरिन् ।

राउन्ड रोबिन लिगको खेलमा एपीएफ अपराजित रहि विजेता बनेको हो । टोलीले राउन्ड रोबिन लिगमा सबै ७ खेल जितेको थियो । एपीएफले फाईनल अघि राउन्ड रोबिन लिग र क्वालिफायर १ मा समेत कोशीलाई पराजित गरेको थियो ।

व्यक्तिगत तर्फको उपाधी कसले जिते ?

नेपाली क्रिकेट टोलीकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासे प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी चुनिएकी छिन् । कोशीलाई फाइनल सम्म पुर्याउन रुविनाले सानदार अलराउन्ड प्रदर्शन गरेकी थिइन् । उनले यमाह १२५ सिसीको स्कुटर प्राप्त गरिन । रुविनाले यस प्रतियोगितामा १० खेलमा ३ अर्धशतक सहित कुल ३ सय ४५ रन बनाइन् । उनले ५६ चौका र ३ छक्का प्रहार गरिन् भने बलिङमा ११ विकेट लिएकी थिइन् ।

उदीयमान खेलाडी गण्डकी ज्योत्स्निका मरासिनीले प्राप्त गरिन् । उनले ५० हजार बराबरको क्रिकेट सामाग्री प्राप्त गरिन । उनले ७ खेलमा ९१ रन बनाएकी थिइन् । जसमा कर्णाली विरुद्ध ५० रनको इनिङ खेलेकी थिइन् ।

उत्कृष्ट बलर पुजा महतो चुनिन् । पुजाले ७ खेलमा १२ विकेट लिएकी थिइन् । उनले ५० हजार प्राप्त गर्नेछिन् । उनले ७ खेलमा २६.३ ओभरमा ९६ रन खर्चेर १२ विकेट लिएकी थिइन् ।

सुमन खतिवडा उत्कृष्ट ब्याटर चुनिन् । उनले ७ खेलमा २ सय १२ रन बनाएकी थिइन् । सुमन र पुजाले समान ५० हजार प्राप्त गर्नेछन् । फाइनलमा एपिएफले कोशीलाई ११ रनले हराउँदै उपाधि जितेको थियो ।

मधेश प्रदेशकी पुजा महतो उत्कृष्ट बलर चुनिएकी छिन् । मधेश लिगबाटै बाहिरिएपनि पुजा उत्कृष्ट बलर चुनिएकी हुन् । उनले ७ खेलमा २ सय १२ रन बनाउनुको साथै १२ विकेट लिएकी थिइन् । उनले उत्कृष्ट बलर मार्फत ५० हजार प्राप्त गरिन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ८ : १० बजे