पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

रविन्द्र काफ्ले
पाँचथर, १८ पुसः विशेषतः वर्षायाममा पूर्वी पहाडवासीलाई पिरोल्ने भेडेटार-रबि-राँके सडक निर्माणको कार्यले पछिल्ला दिनमा गति लिएको छ । धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १००.३६७ किलोमिटर लामो सडक निर्माण कार्यमा धनकुटातर्फ प्रगति देखिएको हो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट सुरुआत भएको सडक पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँसम्म चौडा विस्तार सम्पन्न भएको छ । उक्त खण्डको करीव ४५ किलोमिटर सडकमा सडक चौडाको कार्य सम्पन्न गरी नाली निर्माण, पर्खाल, टेवा पर्खाल लगायतका भौतिक संरचना निर्माण लगायतका कार्य अघि बढेका हुन् । यस्तै इलाम-पाँचथर खण्डको राँकेबजार-घुर्विसेपञ्चमी खण्डमा समेत निर्माण कार्यले सामान्य गति लिएको छ ।

भेडेटार–रबि–राँके सडक आयोजनाका प्रमुख दीपेश रजकका अनुसार आयोजना निर्माणमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको छ । “पछिल्लो १० महिनामा मात्रै हामीले निर्माण कार्यमा २७ प्रतिशत प्रगति हाँसिल गरेका हौं”, रजकले भन्नुभयो, “यसवर्ष बर्षायाममा सवारी सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यसहित काम अघि बढेको छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारत सरकारले यो सडक निर्माणमा सहुलीयतपूर्ण ऋण दिने घोषणा गरेको थियो । सोही घोषणाअनुसार २०७५ साल पुस ३ गतेबाट यो सडक निर्माण सुरु भएको थियो । भारतको एक्जिम बैङ्कले सहुलीयतपूर्ण ऋण निकासा गर्ने भएकाले भारतकै एप्को इन्फ्राटेक प्रा.लि.ले सडक निर्माणको ठेक्का पाएको थियो । तर उक्त भारतीय निर्माण कम्पनीले निर्माणको जिम्मेवारी दिएको भारतकै अभिषेक विल्डर्स नामक कम्पनीले करीब चार वर्ष सडक निर्माणलाई गति दिन सकेको थिएन ।

आयोजना प्रमुख रजकका अनुसार पछिल्लो पटक मुख्य निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रा.लि. आफैंले आयोजनालाई अघि बढाइरहेको छ । यस्तै आयोजनाको परामर्शदाता कम्पनीलाई समेत हटाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतबाटै परामर्शको समेत काम गर्ने ब्यवस्था मिलाइएपछि निर्माण कार्यले गति लिएको हो । यस्तै आयोजनाको रुख कटानी, निर्माण सामग्रीको उत्खनन् तथा प्रयोग, भौतिक संरचना विस्थापनसहितका कार्य पनि सम्पन्न भएकाले आयोजना अघि बढाउन अब कुनै समस्या नरहेको उहाँको भनाई छ ।

अहिले सडकको ७० किलोमिटर क्षेत्रमा निर्माण कार्य भइरहेको आयोजना प्रमुख रजकले वताउनुभयो । “अहिलेको गति कायम राख्न सके निर्माण कार्य सम्पन्न गर्न धेरै लामो समय लाग्दैन”, उहाँले भन्नुभयो, “विगतमा कोभिड–१९ महामारी, वातावरणीय प्रभाव मूल्याङ्कन, रुख कटानी र संरचना हटाउने कुराले धेरै अड्चन गरेका रहेछन् ।” उहाँका अनुसार हालसम्म आयोजना निर्माणमा चार पटक म्याद थप भएको छ । पछिल्लो पटक थप गरिएको म्याद आगामी भदौ १२ गतेसम्म रहेको छ ।

निर्माण कार्यमा ३५ वटा स्काभेटर, दुई दर्जनबढी अन्य निर्माण सामग्री, करीब ३५० जना कामदार खटिएका छन् । यहाँ डीभीएसटी प्रविधिबाट कालोपत्रे गर्न लागिएको र सो प्रविधिका लागि तापक्रम उपयुक्त हुँदा मात्रै सम्भव हुने भएकाले कालोपत्रेको काम भने मौसममा आधारित हुने रजकको भनाई छ । “यो भूभाग चिसो ठाउँ भएकाले कालोपत्रेमा ढिलाई हुन्छ । तर अहिले हामीले ग्रेड, सबबेस र बेसको काम सँगसँगै गरिरहेका छौं”, रजकले भन्नुभयो, “ग्राबेल र नालीहरु बनाइसकेको अवस्थामा इलाम–पाँचथरवासीले पाउने गरेको दुःख हुँदैन् । त्यो दुःख यो बर्षायाममा हटाउन सक्छौं भन्ने मैले विश्वास लिएको छु ।”

तर सबै क्षेत्रमा एकैसाथ निर्माण कार्य हुन नसक्दा सेवाग्राहीहरु भने ढुक्क देखिँदैनन् । सडक निर्माण सुरुआत भएको धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का दिलीप मगर पछिल्ला दिनमा निर्माण कार्यले गति लिएकामा निकै खुशी हुनुहुन्छ । “अहिले देखिएको प्रगतिलाई निरन्तरता दिनुहुन म निर्माण कम्पनी र आयोजना कार्यालयलाई आग्रह गर्छु”, मगरले भन्नुभयो ।

तर पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ हुलाकका डिल्ली राई सडक कालोपत्रे हुने कुरामा आफूहरुलाई विश्वास लाग्न छाडेको वताउनुहुन्छ । “कालोपत्रे हुने भनेको यत्तिका समयमा पनि यहाँ कुनै काम हुन सकेको छैन् । बर्खा लाग्नासाथ पैदल हिँड्नुपर्ने अवस्था आउँछ”, राईले भन्नुभयो ।

यो सडक धनकुटामा ४५.३९ किमी, पाँचथरमा ३०.१८ किमी, इलाममा २२.१९ र इलाम–पाँचथर सीमामा २.०६ पर्छ । उच्च पहाड हुँदै निर्माणाधीन सडक बर्खा लाग्नासाथ हिलाम्य हुने हुँदा सवारी सञ्चालन ठप्पप्राय हुन्छ । कूल रु. ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ को लागतमा १००.३६७ किलोमिटर सडक नौ मिटर चौडा कालोपत्र गर्नुपर्ने निर्माण सम्झौतामा उल्लेख छ ।

पछिल्लो पटक सडकको स्थलगत अवलोकन गर्नुभएका पाँचथरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङका अनुसार निर्माण कम्पनीलाई सबै खण्डमा काम अघि बढाउन, जनशक्ति र उपकरण थप गर्न तथा वर्षायामअघि नै सबै स्थानमा ग्रावेल सम्पन्न गर्न आग्रह गरिएको वताउनुहुन्छ । “काम हुन नसक्दा इलाम–पाँचथर खण्डका जनतालाई सडक बन्ने विश्वास छैन् । सबै खण्डमा काम थालेर बर्षायाममा सवारी सञ्चालन सहज बनाउन निर्माण कम्पनी सकारात्मक भएको छ”, नेम्बाङले भन्नुभयो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ९ : २७ बजे