पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । इतिहासकार तथा भाषाविद् स्व. इमानसिंह चेम्जोङको सालिक झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुर चोकमा सोमबार अनावरण गरिएको छ । स्व. चेम्जोङको १ सय २१ औँ जन्मजयन्तीका अवसरमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले सालिक अनावरण गरेका हुन्।

सालिक निर्माण गर्न रु १५ लाख ६० हजार ९ सय ६६ रुपैयाँ खर्च भएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए । सालिक निर्माण स्थल सहितको संरचना निर्माण गर्न सो खर्च भएको हो । सालिक निर्माण लागि दाताहरुबाट रु २१ लाख ५२ हजार २ सय ५६ सङ्कलन गरिएको थियो । संकलन भएको रकम मध्ये रु ६ लाख ३१ हजार २ सय ९० बचत भएको संयोजक चेम्जोङले जानकारी दिए।

स्व. चेम्जोङले लिम्बू भाषा र सिरिजंगा लिपिको संरक्षण सम्बद्धन गर्न योगदान पुर्याएका थिए । उनका हिस्ट्री एण्ड कल्चर अफ किरात पिपुल, किरातकालित विजयपुरको संक्षिप्त इतिहास, किरात दर्शनको सारांश, किरात इतिहास, किरात मुन्धुम खाहुन, किरात व्याकरण लगायतका दर्जनौ कृति प्रकाशित छन् ।

चेम्जोङको जन्म १९०४ जनवरी १ मा भएको थियो । उनका पूर्खा पाँचथरवाट भारतको सिक्किम बसाँई सरी गएका थिए । उनको शिक्षा दिक्षा भारतमानै भयो भने उनले सिक्किमा शिक्षण पेशा गरे । १९६१ देखि १९७५ सम्म त्रिभुवन विश्वविद्यालयमा किरात इतिहास तथा संस्कृतिविद्का रूपमा काम गरेका थिए । उनको निधन १९७८ अक्टोबर ८ मा भारतको दार्जेलिङमा भएको थियो ।

इतिहासका साथै भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा उनको योगदान अतुलनीय रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य दिलेन्द्र कुरूम्बाङले बताए । उनी भन्दा अगाडि लिम्बू समुदायमा कलम चलाउने व्यक्ति विरलै मात्र भएको जनाउँदै सुब्बाले उनको लेखन माथि समालोचनात्मक दृष्टिकाेण राख्नु पर्ने बताए । “तत्कालिन समय, परिस्थिति अनुसार चेम्जोङले जे लेखे, त्यो महान् कार्य थियो”- प्राज्ञ कुरुम्बाङले भने- “पछिल्लो पुस्ताले त्यसको समालोचना गरेर तथ्यपरक विषयको पुनःलेखन गर्न पर्छ ।”

स्व. चेम्जोङको योगदानको मूल्याङ्कन गर्दै तत्कालिन सरकारले २०५५ सालमा उनको तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी उनलाई राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ । यसैगरी कक्षा १० को नेपाली पुस्तकमा समेत उनको जीवनी प्रकाशन गरिएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ५ : ५७ बजे